Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

भविष्य खोज्दै महिला खेलाडी


डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसीमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँको भलिबल खेलमा औधी रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा सारु निरास हुनुहुन्छ ।

स्थानीय तथा विद्यलायस्तरमा हुने विभिन्न खेल प्रतियोगितामा सरिक हुने उहाँ सामान्यतया पूर्वाधार अभावले खेलाडीलाई खेल्ने वातावरण नभएकोमा चिन्तित हुनुहुन्छ । सारु दुई वर्षदेखि भलिबल खेल्दै आउनुभएको छ ।

सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुहुन्छ । एकै प्रकृतिको खेल भए पनि पुरस्कार दिँदा महिला खेलाडीलाई भेदभाव गर्ने गरेको गुनासो पोख्नुहुन्छ ।

“प्रतिभा लुकाएरै बस्नुपर्ने हुन्छ, महिला सहभागिता बढाउन आवश्यक छ । एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद गर्नुभएन, यस्ता कुराले पनि खेलाडीलाई असर गर्छ”, सारुले भन्नुभयो ।

दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै निरन्तर प्रतिस्पर्धा गर्दै आउनुभएको छ । महिलाका लागि स्थानीय तथा विद्यालयस्तरमा भलिबल खेलमात्रै धेरै आयोजना गरिने हुँदा यसबाट भविष्य बनाउने अठोट लिएको उहाँको भनाइ छ । स्थानीयस्तरमा खेल पूर्वाधार नहुँदा घर्ती चिन्ता प्रकट गर्नुहुन्छ ।

“स्थानीय तहमा मात्र नभई बाहिरी जिल्लामा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यहाँ प्रशिक्षणको व्यवस्था छैन, आफ्नै मेहनतले जे जसरी सिक्यो त्यसरी नै खेल्ने हो, हरेक स्थानीय तहमा खेल प्रशिक्षक आवश्यक छ”, उहाँले भन्नुभयो ।

दरैठाँटी माविकै कक्षा ११ की छात्रा अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राख्नुहुन्छ । भलिबल खेल्न पाउँदा उहाँ ज्यादै हर्षित हुनुहुन्छ । फुर्सदमा भलिबल खेलिहाल्ने थापाको बानी छ । अठार वर्षीया थापा परिवारको साथ सहयोगका कारण खेल्न पाएको बताउनुहुन्छ । उहाँ तीन वर्षदेखि भलिबल प्रतियोगितामा सहभागी बन्दै आउनुभएको छ ।

“स्थानीयस्तरमा आश लाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत समस्याले खेलमा महिलाको उपस्थिती कम छ”, थापाले भन्नुभयो ।

विद्यालयस्तरीय हुने खेलकुदका कार्यक्रमले खेल क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको रामपुर नगर भलिबल सङ्घका अध्यक्ष देव श्रेष्ठले बताउनुभयो । अझै पनि पुरुषको तुलनामा महिला खेलाडी सहभागी कमै हुने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

“महिलालाई घरबाट खेलमैदानसम्म ल्याउन गाह्रो छ”, उहाँले भन्नुभयो, “घरायसी कारणले सहभागिता गराउनै समस्या छ ।” राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप र ओकेबाजे कप जस्ता प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धामा आउन सजिलो छ । स्थानीय र जिल्ला तहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बन्धित पालिकाले माथिल्लो क्षेत्रसम्म प्रतिस्पर्धा गर्ने वातावरण तयार पारिदिनुपर्छ । खेल क्षेत्रमा सामान्य आधारभूत सेवा उपलब्ध नहुँदा पनि खेलाडीको मनोबल बढ्न सकेको छैन ।
–––


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!