Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

गाईजात्रा (सापारु) भव्य रूपमा मनाउन नगरपालिकाको आह्वान


भक्तपुर। कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ ।

यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्य रूपमा मनाउन भक्तपुर नगरपालिकाले समेत सर्वसाधारणलाई आह्वान गर्दै गाईजात्रा प्रदक्षिणा मार्गलाई खाली गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७९ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तार व्यवस्थित गर्ने सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभएको छ ।

प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्र्यादितरूपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आफ्नो भूमिका निर्वाह गर्न, गाईजात्रा प्रदक्षिणा मार्ग र महत्त्वपूर्ण चोक तथा सडकमा अस्तव्यस्त रूपमा राखिएका बिजुली, टेलिफोन तथा इन्टरनेट र केबुल नेटवर्कका तार यही २०७९ साउन २० गतेभित्र सम्बन्धित पक्षले आ–आफ्ना तार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले नगरपालिकाले सम्बन्धित निकायका प्रमुखलाई नगरपालिकामा छलफल गरी साउन २० गतेभित्र सबै तार व्यवस्थापन गर्ने निर्णय नै गरेको बताउँदै रवीन्द्र ज्याख्वको संयोजकत्वमा तारको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन गर्ने गरी सात सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो ।
गाईजात्रा प्रदक्षिणा मार्गमा अस्तव्यस्त राखिएका तार साउन २० गतेपछि व्यवस्थित नगरिए नगरपालिकाले नै त्यस्ता तार हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुलउपर गर्ने उहाँले बताउनुभयो ।

गाईजात्रा अवधिभर विद्यत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको र गाईजात्रा पर्वमा प्रदर्शन गरिने घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनी देश–विदेशका सबै नागरिकले सहज ढङ्गबाट अवलोकन गर्न पाउने सुविधाका लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न नगरपालिकाले आह्वान गरेको छ ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!