प्रलोभनमा धर्म परिवर्तन गर्नुहुँदैन : नेता कोइराला

नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराउनुभयो ।
नेता कोइरालाले भन्नुभयो, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई भन्ने र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन, यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौँ ।” नेता कोइरालाले आफूलाई धर्म परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।
धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने बताउँदै उहाँले भन्नुभयो, “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन, सभ्य समाज नभई सभ्य र सुसंस्कृत राष्ट्र बन्न सक्दैन ।” उहाँले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएकोसमेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद सङ्ग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । चार कट्ठा दुई धुर जग्गामा करिब रु एक करोडको लागतमा मन्दिर निर्माण गरिएको छ भने मन्दिरस्थलमा आजदेखि जेठ ४ गतेसम्म श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया