Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

एक दशकमा पनि बनेन टेकुको पुल


एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ ।

तर काठमाडौँमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन । टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९÷६० मा सुरु भए पनि हालसम्म समपन्न भएको छैन ।

पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात आवागमन रोकिएको डिभिजनका सूचना अधिकारी सुनिता केसीले बताउनुभयो ।

पुल निर्माण अघि बढिरहँदा नै डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको थियो । डिभिजनले कम गुणस्तरको भएकाले निर्माण अघि नबढाउन भनेको भए पनि कम्पनीले त्यो नमानेको सूचना अधिकारी केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिभिजनले रोक्न भन्दाभन्दै कम्पनी काम सकाउन लागेको थियो ।”

कम गुणस्तरको निर्माण भएको र पहिले डिजाइनमा उल्लेख भएअनुसार (स्पेसिफिकेसन) अनुसार नभएकाले तीन वर्ष पहिले निर्माण कम्पनीसँगको ठेक्का तोडिएको डिभिजनले जनाएको छ ।

डिभिजन कार्यालयले ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा पठाएपछि कम्पनी अदालतमा गएको थियो । मुद्दा विचाराधीन हुँदा थप कारबाही गर्न नसकिएकाले अहिले पुल बन्द गरी राख्नुपरेको सूचना अधिकारी केसीको भनाइ छ । उहाँले भन्नुभयो, “पुलसम्बन्धी मुद्दाको निर्णय आएपछि त्यहीअनुसार अघि बढाइनेछ ।”

कम्पनीले आफ्नोतर्फबाट निर्माण सकेपछि यातायात सञ्चालन गर्न चाहेको भए पनि कम गुणस्तरको बनेकाले नदिइएको डिभिजनले जनाएको छ । अहिले मुद्दा विचाराधीन भएकाले खोल्न नमिल्ने उहाँले बताउनुभयो । पुलको माथिको बीचको भाग भत्काउनुपर्ने कार्यालयको भनाइ छ । पहिले निर्माण कम्पनीले रोक्नभन्दा नमानेर बनाएको संरचना स्वीकार गर्ने किसिमको नभएको उहाँले बताउनुभयो ।

पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो । उक्त कम्पनीले टेकु र तीनकुनेमा रहेका दुई वटै पुल निर्माणको जिम्मा पाएको थियो । दुई वटै पुलमा गुणस्तरीय काम नगरेको भन्दै ठेक्का तोडिएको थियो । तीनकुनेमा रहेको पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको भए पनि यो पुलको मुद्दा अदालतमा रहेकाले लामो समयसम्म पुल अलपत्र अवस्थामा छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!