Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

मजदुरबाट मालिक बनेका खत्री


विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिनुहुन्छ ।

विगतमा ज्यालामजदुरी गर्दै आउनुभएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक हुनुभएको छ ।

पोखरा जाने क्रममा पर्वत जिल्ला सदरमुकाम कुश्मामा प्लास्टिक टनेलमा गोलभेँडा खेती गरेको देखेपछि तरकारी खेती गर्ने सोच पलाएको बताउने खत्रीको अहिले सानाठूला गरी आठ प्लास्टिक टनेलमा तरकारी खेती छ ।

खत्रीले मौसमी तथा बेमौसमी तरकारी खेतीमा सफलता पाउनुभएको छ । आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने योजना नआएको सुनाउनुभयो । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

“गाउँघरमा घर निर्माणको काम गर्दथे, पछि प्लास्टिक टनेलमा उत्पादन गरेको तरकारी राम्रो भएको देखेँ, परीक्षणका लागि एउटा प्लास्टिक टनेलबाट १४ वर्षअघि तरकारी खेती गर्न थाले, तत्कालिक कृषि विकास कार्यालयको निरन्तर सहयोगले हौसला बढ्दै गयो”, कृषक खत्रीले भन्नुभयो, “एक रोपनी जग्गाबाट सुरु गरेको तरकारी खेती १८ रोपनीसम्म गर्न थालेको छु जसमध्ये पाँच रोपनी जग्गा मात्रै आफ्नो हो ।”

तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै व्यावसायिक तरकारी खेती गर्दै आएको खत्रीको भनाइ छ । अहिले खत्रीको प्लास्टिक टनेलमा गोलभेँडा, सिमी, काँँक्रो, काउली बन्दा लगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले आठ प्लास्टिक टनेलमा बेमौसमी तरकारी तथा खुल्ला जग्गामा मौसमी तरकारीमा जोड दिनुभएको हो ।

आठमध्ये दुई ‘हाइटेक’ र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत पुनः अर्को आधुनिक टनेल निर्माण भइरहको बताउनुभयो । ५१ वर्षीय खत्रीले १४ वर्षको मेहतनका कारण अहिले वडाकै अगुवा कृषकका रुपमा परिचित भइसक्नुभएको छ ।

आफ्नो खत्री एग्रो फर्ममा हालसम्म १२ लाख लगानी गरिसक्नुभएका खत्रीले कृषि ज्ञान केन्द्रबाट प्लास्टिक टनेल निर्माण गर्न र बीउ बिजनमा सहयोग भइरहेको बताउनुभयो । उहाँले तरकारी खेतीसँगै ब्वायलर कुखुरा र भेडासमेत पाल्नुभएको छ ।

“एकजनालाई प्रत्यक्ष रोजगारी दिएको छु, परिवारका अन्य सदस्यले काममा सघाउनुहुन्छ, बजार नजिकै रहेकाले तरकारीले बजार नपाउने समस्या छैन, पहिला आफँै डोकोमा बोकेर बागलुङ बजार लैजान्थे, अहिले केही तरकारी गाउँमै खपत हुन्छ भने अधिकांश तरकारी बागलुङ बजारमा जीपमा राखेर पु¥याउँछु”, उहाँले भन्नुभयो, “तरकारी, कुखुरा, भेडा र किराना पसल सबै आम्दानीका स्रोत हुन्, तर मुख्य आम्दानी तरकारीबाटै हुन्छ, आम्दानीमध्ये तीन–चार लाख खर्च हुन्छ ।”

तरकारी खेतीमै भएको बचतले दुई छोराहरुलाई पढाउने र घर निर्माण गरेको खत्रीको भनाइ छ । अघिल्लो वर्ष कृषि ज्ञान केन्द्र बागलुङले खत्रीको फर्मले आधुनिक टनेल निर्माणका लागि रु दुई लाख ५० हजार अनुदान पाएको थियो । ज्ञान केन्द्र र बागलुङ नगरपालिकाले कृषिमा लाग्न निरन्तर हौसला प्रदान गरिरहेको खत्रीको भनाइ छ ।

खत्रीले थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत गोलभेँडा खेती गर्दै आउनुभएको छ । खत्री अहिले बागलुङ नगरपालिका–९ तित्याङको वडास्तरीय कृषि समितिको संयोजक हुनुहुन्छ ।

उहाँले यस वर्ष वडामार्फत तरकारी खेती पवर्द्धन कार्यक्रमका लागि विनियोजित रु १० लाखमध्ये तीन आधुनिक तथा ३६ थान टनेलका लागि आवश्यक प्लास्टिक वितरण गरेको बताउनुभयो । यस्तै, सुन्तला प्रवर्द्धन कार्यक्रमअन्तर्गत सुन्तलाको बगैँचा विस्तार, सुन्तला कृषक प्रोत्साहन तथा सुन्तला खेतीका लागि आवश्यक औजार तथा उपकरणका लागि रु १० लाख बराबरको अनुदान कृषकमाझ पु¥याएको बागलुङ नगरपालिका–९ तित्याङका वडाअध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!