Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

समाधि गृह फोडेर फलामे वस्तु चोरी हुन थाल्यो


कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।

दर्जनौँ समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताउनुभयो । उहाँले किराँत समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै भन्नुभयो, “समाधिस्थलका गृहहरू यसरी काटेर लैजाने घटना नयाँ समस्याका रूपमा देखा पर्यो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरूले बेलैमा ध्यान दिऔँ ।”

पितृ पुर्खालाई समाधिस्थ गरिएको स्थानमा राति राति तोडफोड गर्ने र फलामजन्य वस्तुहरु चोरेर लैजाने गिरोह सक्रिय भएको पाइएको जनाउँदै उहाँले यस्तो गलत कार्य गरिरहेकालाई नियन्त्रणमा लिएर कारवाही गरिनुपर्ने माग गर्नुभयो ।

रतुवामाई वृक्षरोपण आयोजनाको पश्चिम कुनामा रहेको गेउरिया समाधिस्थल झापामा सबैभन्दा ठूलो मानिन्छ । यहाँ हजारौँ व्यक्तिको समाधि छ । किराँतीहरूले आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा जङ्गल वा खोला किनारमा लगेर माटोमा समाधिस्थ गर्ने परम्परा छ ।

गेउरियामा करिब डेढ बिघा क्षेत्रफलमा राई, लिम्बू, गुरुङ, शेर्पा, मगरलगायतको समाधि राखिँदै आएको छ । समाधिस्थलमा कङ्क्रिटको चिटिक्क परेका साना साना घर निर्माण हुने गरेका छन् । एकै ठाउँमा हजारौँ समाधि रहेकाले त्यो जङ्गल क्षेत्र समाधि बस्ती जस्तै बनेको छ ।

कमल–५ का वडाध्यक्ष लालबाबु बिष्टले समाधि गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताउनुभयो । समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्नका लागि निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिसक्ने उहाँले जानकारी दिनुभयो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!