Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

सडक र गाउँबस्तीमै जङ्गली जनावर : मानिसलाई समेत खतरा


गत मङ्गलबार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा वयस्क चितुवा म¥यो । गत माघमा पनि सोही सडकखण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटरसाइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झन्डै झम्टेको थियो । डरका कारण मोटरसाइकललाई सन्तुलनमा लिन नसक्दा घिमिरे लडेर घाइते हुनुभयो ।

उता बेनी नगरपालिका–३ को तोराखेतमा चितुवाले गत फागुनमा चारवटा बाख्रा मा¥यो । म्याग्दीमा विगत दुई वर्षयता जङ्गली जनावरको आतङ्क बढ्दै गएपछि पशुचौपायालाई मात्रै होइन मानिसलाई समेत खतरा उत्पन्न भएको छ ।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् भने सडक छेउछाउमा समेत चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । जङ्गल नजिकका गाउँमा चितुवा, बँदेल, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको हो । पछिल्लो सयम चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषकले मार खेप्नुपरेको छ ।

त्यस्तै, बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको छ । हुलका हुल आउने बँदेलले एक रातमा नै ठूलो क्षेत्रको आलु खेती बर्बाद गरेको मालिका गाउँपालिका–५ का जगबहादुर बुढाले बताउनुभयो । “बाँदर र बँदेलले खेती बाली नष्ट गर्ने क्रम पुरानै भए पनि यो पटक धेरै क्षति पु¥याइरहेको छ,” उहाँले भन्नुभयो, “अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।”

बेनी–३ लहरेनीका सन्तबहादुर चर्मकारले गाउँमा यो वर्ष सुरु भएपछि मात्र तीनवटा बाख्रा, भँैसीको एउटा पाडो र कुखुरा जङ्गली जनावरले खाइदिएको बताउनुभयो । “राति कति बेला खोरमै आएर लैजान्छ पत्तो नै हुँदैन”, उहाँले भन्नुभयो । यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।

“जङ्गल क्षेत्रमा आहारा कम पाएकाले पनि हुन सक्छ जङ्गली जनावरको बिगबिगी बढेको छ”, डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले भन्नुभयो । म्याग्दीमा जङ्गल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, चितुवाको प्राकृतिक आनीबानीमा परिवर्तन जस्ता कारणले चितुवा आक्रामक बन्दै गएको रानाभाटले जानकारी दिनुभयो ।

प्रमुख रानाभाटले वनजङ्गलमा लागेको डढेलोका कारणसमेत अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने बताउनुभयो । म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको स्थानीयवासीले बताएका छन् । ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे र बर्खे बाली जङ्गली जनावरहरूबाट जोगाउन स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषकहरू बताउँछन् ।

आलु, गहुँ, मकैजस्ता बाली जङ्गली जनावरले नोक्सानी गर्दा ग्रामीण क्षेत्रका किसानको खानेकुरा जोहो गर्न नै कठिन हुने गरेको छ । चितुवा, भालुजस्ता वन्यजन्तुले गर्दा एक्लैदुक्लै हिँड्नै कठिन हुने गरेको खबराका राजाराम शर्मा सापकोटाले बताउनुभयो । स्थानीयवासीले वन्यजन्तु नियन्त्रणका लागि सरकारको साथ खोजेका छन् । जङ्गली जनावरले अन्न बाली, तरकारी र फलफूल पशुचौपाया मात्र होइन, मानव बस्तीमा पसेर घरगोठमा समेत क्षति पु¥याउन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो र जङ्गली जनावरकै कारण बसाइँ सर्नेसम्मको अवस्था आएको तोराखेतका ६२ वर्षीय डिल सापकोटाले बताउनुभयो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : समाचार, समाज, सम्पादकीय

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!