Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो तस्बिर


काठमाडौँ, ४ वैशाख (रासस) : पछिल्ला दिनमा तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ भने विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा ‘मे आई हेल्प यू’ ज्याकेट लगाएका स्वयंसेवीले पहिलो प्रश्न गर्नेछन् । प्रश्नसँग नडराउनुहोला किन कि ती प्रश्नहरू तपाईंको जिज्ञासा र सहजीकरणका लागि हुनेछन् । हो अहिले मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फरक दृश्यहरू देख्न सकिन्छ । विमानस्थलको सेवा सुदृढीकरणका केही छनक पनि भेटिन्छन् । अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो तस्बिरले विमानस्थल भएर यात्रा गर्ने र विमानस्थल पुग्ने जो कोहीको ध्यान खिचेको हुन्छ ।

विदेशी नागरिक नेपाल प्रवेश गर्ने प्रमुख नाका तथा नेपालको पहिलो झझल्को दिने पनि अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यात्रुको सेवा र सन्तुष्टिलाई मध्यनजर गर्दै विमानस्थलले विभिन्न सुधारका काम गरिरहेको छ । विमानस्थलको सेवा गुणस्तर र स्तरोन्नतिका काम तीव्ररूपमा अघि बढाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यात्रुको सन्तुष्टिका लागि सेवालाई छिटो, छरितो र स्तरीय बनाउन साना साना सुधारका काममै बढी केन्द्रित छौँ, अत्यावश्यक उपकरण र डिजिटलाइजेसनको कामलाई पनि सँगै अघि बढाइएको छ ।”

महाप्रबन्धक तिवारीका अनुसार वैशाख १ गतेदेखि विमानस्थलमा ‘नमस्ते नेपाल’ लिखित सहायता कक्ष ‘हेल्प डेस्क’, बाट ‘मे आई हेल्प यू’ लेखिएको ज्याकेट लगाएका जनशक्तिबाट टर्मिनल गेट, टिकट उडान जानकारी र उडानसम्बन्धी ‘अनाउन्समेन्ट’, ब्यागेज, ह्वीलचेयरसम्बन्धी सेवा, इन्टरनेट लगिन, वेइजिङ मेसिनलगायतका सुविधासम्बन्धी जानकारी दिने एवं आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

साथै ह्वीलचेयर यात्रु, ज्येष्ठ नागरिक, गर्भवती, बालक, फरक क्षमता भएका अशक्तका लागि प्राथमिकता दिने गरी अलग्गै लाइनको व्यवस्था मिलाइँदै छ । टर्मिनल चेक–इनभित्र आफन्त यात्रुको सहयोगका लागि प्रवेश गर्न आवश्यक यात्रुका आफन्तलाई सुरक्षाको मापदण्ड पूरा गर्ने गरी प्रवेशका लागि सहायता कक्षका कर्मचारीले प्रवेश पासका लागि पनि सहजीकरण गरिदिने व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरणका लागि पटक पटक आकस्मिक तथा औपचारिक निरीक्षण गरी सरोकारवाला अधिकारीसँग छलफल गर्दै आउनुभएको छ । पछिल्लो पटक पर्यटनमन्त्रीले विमानस्थलको सेवासँग जोडिएका एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरेपछि विमानस्थलले क्रमशः सुधारका काम थालेको हो । विमानस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी तथा विमानस्थलमा खटिने उच्च कर्मचारीसँग विमानस्थलमै पुगेर मन्त्री किरातीले विमानस्थलमा पछिल्ला दिनमा भइरहेका गतिविधिबारे चासो राख्दै समाधानका लागि सम्बन्धित निकायलाई ताकेता गरिरहनुभएको छ ।

विमानस्थलमा दैनिक सबै क्षेत्रका कर्मचारी सम्मिलित ‘इन्सपेक्सन टीम’ परिचालन गरी, कमीकमजोरी सुधार गर्ने क्रम जारी रहेको महाप्रबन्धक तिवारीले उल्लेख गर्नुभयो । विमानस्थलभित्र ‘एयरसाइड’ सुरक्षा सुदृढ गर्ने सम्बन्धमा सम्बन्धितबाट नै सुधारका कार्ययोजनासहितको प्रतिवेदन बुझी उनीहरूबाटै सीमाभित्रैका कार्यान्वयनको प्रतिद्धबता लिने गरिएको छ ।

दैनिक कामको अभिलेख

विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राख्ने गरिएको छ । विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजनाका साथ काम भइरहेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।

वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नुपर्ने कामको योजना बनाइनेछ । देशको ऐनाको रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी तुल्याउन पर्यटन मन्त्रालयले विशेष चासो दिएको छ । पर्यटनमन्त्रीले हालै विमानस्थलमा ब्यागेज चोरिएको घटनाको सत्यतथ्य खुलाउन, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङबारे, सरसफाइ अभियानलगायत प्रश्न विमानस्थलका अधिकारीलाई गर्नुभएको थियो ।

मन्त्री किरातीले ट्रली फेर्ने, शौचालयभित्रको सुधारका साथै विमानस्थल अगाडिको ब्यूटिफिकेसनमा भइरहेको सुधारबारे जानकारी माग्नुभएको थियो । महाप्रबन्धक तिवारीका अनुसार कार्यालयबाट भएका निर्णय र महाप्रबन्धकबाट भएका निर्देशक कार्यान्वयन गर्न कार्ययोजना बनाइने भएको छ । यस्तो कार्ययोजना विभाग तथा महाशाखाले तयार पारी स्वीकृत गराई कार्यान्वयनमा ल्याइने छ ।

आफ्नो कार्य सम्पादनको प्रगतिको मूल्याङ्कन आफैँ र सहकर्मीको समेत मूल्याङ्कन गर्ने पद्धति विकास भएको छ । “विमानस्थल सुधारका लागि विभागीय मन्त्रीको निर्देशन कार्यान्वयन, विमानस्थल सुरक्षा र यात्रु सेवा सुविधा तथा पूर्वाधारमा केन्द्रित छु”, महाप्रबन्धक तिवारीले भन्नुभयो ।

यात्रुको सुरक्षा र सन्तुष्टिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको तथा ट्रली सुधारका लागि प्रक्रिया अघि बढाइएको महाप्रबन्धक तिवारीको भनाइ छ ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!