Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न एकार्कालाई सहयोग गरौँ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताउनुभएको छ । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आज बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उहाँले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखापरेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपाय खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।” विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस भएको र अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको जनाउँदै उहाँले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत् छलफल गर्नेबारेमा आफूले सोचिरहेको बताउनुभयो ।

“हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन् भन्दै प्रधानमन्त्री दाहालले भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण पनि रहेका बताउनुभयो । सरकार राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागिपरेको उहाँको भनाइ थियो ।

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ । घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ । त्यसकारण यसमा पनि हामी छिट्टै निष्कर्षमा पुग्छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने तर तिर्दिनँ भन्नेलाई छाड्न नसकिने उल्लेख गर्दै उहाँले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताउनुभयो । “हूलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ”, उहाँले भन्नुभयो ।

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले बैंक र कर्मचारीको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत सहभागी हुनुहुन्थ्यो ।

#Nepalgyan #News #Kathmandu #Nepal


क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!