Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

तामाकोसी आएसँगै घट्न सक्छ विद्युत आयात

वर्षामा फालाफाल, हिउँदमा के हुन्छ?


काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएसँगै नेपालले भारतबाट आयात गर्ने विद्युत ७० प्रतिशतसम्म घट्न सक्ने देखिएको छ।

गत वर्ष नेपालले भारतबाट दुई अर्ब ८२ करोड युनिट विद्युत आयात गरेको थियो। तामाकोसीबाट मात्रै दुई अर्ब २८ करोड युनिट बिजुली राष्ट्रिय प्रणालीमा आउने हुँदा यो वर्ष भारतबाट आयात हुने परिमाण सोझै ७० प्रतिशत कम हुने देखिन्छ।

यति मात्रै होइन हिउँदमा ल्याउने बिजुली बराबर वर्षातमा निर्यात गरेर आयात निर्यातलाई बराबरको स्थितिमा ल्याउन सक्ने सम्भावना पनि छ। तर त्यसका लागि भारतले अहिलेसम्म ‘ग्रीन सिग्नल’ दिएको भने छैन।

नेपालले यो वर्ष एकै दिन ६५ लाख युनिट विद्युत भारत निर्यात गरेको छ। पछिल्लो समय दैनिक कम्तीमा पाँचदेखि १० लाख युनिटसम्म विद्युत नियमित रूपमा भारत निर्यात भइरहेको देखिन्छ। नेपालले जति धेरै बिजुली भारत पठाउँछ, पछि त्यति बिजुली आयात गर्दा भारतलाई थप पैसा तिर्नु पर्दैन। यो तथ्यांकले पनि यो वर्ष नेपालको आयात थप घट्ने संकेत गर्छ।

हिउँदमा भने अझै ५ देखि ७ वर्षसम्मै नेपालले भारतबाट विद्युत आयात गरिरहनुपर्ने बाध्यता छ। किनकी नेपालमा निजी क्षेत्रले बनाएका जलविद्युत आयोजनाहरु सबै नदिको बहावमा आधारित आयोजना हुन्।

नदि प्रवाह आयोजनाका कारण वर्षातमा बिजुलीमा आत्मनिर्भर मात्रै नभएर खेर जाने अवस्था आएको छ भने हिउँदमा भने अझै वर्षौसम्म आयात गरिरहनुपर्ने अवस्था छ।

कम्तिमा ३०० मेगावाट क्षमताका जलाशययुक्त आयोजना नबनेसम्म हिउँदसँगै माग बढेका कुनै न कुनै समयमा भारतबाट बिजुली ल्याइरहनुपर्ने बाध्यता नेपाल सामु छ। जलाशययुक्त आयोजनाहरु प्रस्तावित छन् तर ठूलो लागत पर्ने भएकाले तिनको निर्माणमा तीव्रता आउन समय लाग्ने देखिएको छ।

तामाकोसी आएपछि १५ अर्बको आयात घट्ने अनुमान 
माथिल्लो तामाकोशीको वार्षिक उत्पादन नै दुई अर्ब २८ करोड युनिट रहेको छ। यसको अर्थ यो वर्ष भारतबाट आयात हुने दुई अर्ब २८ करोड युनिटभन्दा बढी ऊर्जा सोझै घट्नु हो। गत वर्ष नेपालले भारतबाट दुई अर्ब ८२ करोड युनिट विद्युत आयात गरेको थियो।

गत वर्ष प्राधिकरणले भारतबाट २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको विद्युत आयात गरेको थियो। अघिल्लो आर्थिक वर्षमा भने १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको विद्युत भारतबाट आयात गरिएको थियो। यो वर्ष ७० प्रतिशत आयात घट्‍दा व्यापार घाटा पनि १५ अर्ब रुपैयाँ भन्दा बढीले कम हुन सक्ने अनुमान गरिएको छ।

अझ नेपालले भारतबाट आयात गर्ने विद्युतभन्दा तामाकोसीको बिजुली थप सस्तो भएकाले पनि आयातको मूल्यमा धेरै फरक पर्ने देखिन्छ।

नेपालले साँझ र बिहानको पिक समयमा मात्रै भारतबाट धेरैभन्दा धेरै बिजुली आयात गर्छ। तामाकोसीले पनि साँझ-बिहान मात्रै ४५६ मेगावाट विद्युत उत्पादन गर्छ भने अन्य समयमा १०० मेगावाट हाराहारी मात्रै विद्युत उत्पादन गर्छ।

तामाकोसीसँगै निजी क्षेत्रका अन्य आयोजनाबाट समेत विद्युत उत्पादन सुरु भएका कारण नेपालले यो वर्ष भारतबाट आयात गरिरहेको विद्युतको ७० प्रतिशत हिस्सा कटौती हुने प्राधिकरणका अधिकारीहरु बताउँछन्।

यदि भारतले नेपालबाट २०० मेगावाट विद्युत मात्रै किनिदिने हो भने आयात र निर्यातको अवस्था बराबरको अवस्थामा आउन सक्ने ती अधिकारीले बताए।

‘तर भारतले भने अहिले नै नेपालको बिजुली किनिहाल्ने संकेत दिएको छैन। बिहार र उत्तर प्रदेशमा आपूर्तिमा अवरोध हुँदा मात्रै नेपालबाट विद्युत लिने गरेको छ,’ ती अधिकारीले भने, ‘नेपालको बिजुली भारतका यी दुई राज्यभन्दा बाहिर जान सक्ने सम्भावना तत्काल छैन। यी राज्यमा पनि भारतीय प्रसारणमा अवरोध हुँदा मात्रै नेपालबाट अलि बढी बिजुली लिने गरेको उदाहरण छ।’

नेपालमा पनि भारतबाट आयात हुने विद्युत पिक समयमा मात्रै बढी छ। यो वर्षको तथ्यांकमा दैनिक ७०० मेगावाटसम्म विद्युत भारतबाट आयात गरिएको रेकर्ड छ।

तर ४५६ मेगावाटको तामाकोसी, २५ मेगावाटको सिंगटी, लगायत अन्य साना ठूला आयोजना गरी ५०० मेगावाटभन्दा बढी विद्युत प्रणालीमा थपिएकाले हिउँदमा २०० मेगावाटभन्दा बढी आयात गर्नु नपर्ने प्राधिकरणको अनुमान छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!