Techie IT
  • ११ असोज २०८१, शुक्रबार
Nepal Gyan

पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न आग्रह


नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभीए) गण्डकी प्रदेशको चौथो वार्षिक साधारणसभामा पर्यटन व्यवसायलाई थप प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ ।

कोरोना कहरलगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवं व्यवहार आवश्यक भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरलगायतले थप समस्यामा पारेको बताउनुभयो ।

चर्को ब्याजदरले व्यवसायी मारमा परिरहेको बताउँदै उहाँले ब्यजादर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सङ्घका गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको बताउनुभयो । पुराना सवारीसाधनलाई इलेक्ट्रिक मोडलमा रुपान्तरण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एनटिभीए गण्डकीका निवर्तमान अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त वैज्ञानिक ढङ्गले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनटिभीए गण्डकीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गादत्त दाहाल, सल्लाहकार एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष केदारनाथ शर्मा, विकास कँडेल, जनक कार्कीलगायतले बोल्नुभएको थियो ।

साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कँडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!