Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

कोदारी मा सडक डिभिजनको लगानी, बालुवामा पानी


नेपाल ज्ञान, तातोपानी ,
मित्रराष्ट्र चीन जोड्ने कोदारी सडकमा चालकले ‘भगवान भरोसा’ मा लामो कन्टेनर चलाउने गर्छन् । सडकको जीर्ण अवस्था देख्दा तातोपानी नुहाउन पुगेका पर्यटक जिब्रो टोक्छन् ।
बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर सडककको अवस्थाबारे स्थानीयले जति आवाज उठाउँछन् उति नै जनप्रतिनिधि र व्यापारी पनि चिन्तित भएर सरकारी निकायको ढोका ढकढक्याउँन पुग्छन् । यद्यपि, यो सडकप्रति सरोकार राख्ने तालुकदार निकाय सडक डिभिजन कार्यालय चरिकोटलाई न समयको पर्वाह छ न सडकको अवस्थाप्रति कुनै चिन्ता !

कोदारी सडक बनाउन सडक डिभिजनले वर्षेनी करोडौं रुपैयाँको ठेक्का आह्वान गर्छ । थुप्रै ठेकेदार कम्पनीले यो सडक बनाउन काम गरे । तैपनि, सडकको दूरावस्था उस्तै छ । एउटा उदाहरण स्थानीयको नजरमा ताजै छ । त्यो हो कोदारीस्थित इकोरिसोर्ट साइडमा रहेको सडकको अवस्था र ठेकेदार कम्पनीले गरेको लापर्वाही ।

तातोपानी चीनसँगको सबैभन्दा पुरानो व्यापारिक नाका हो । जुरे पहिरो, महाभुकम्प, भोटेकोसी बाढी र कोरोना महामारीले बिथोलिएको यो नाका चाँडै नै पहिलेझैँ गुल्जार हुँदै पनि छ । तर, सडकको अवस्था नसुध्रिँदा स्थानीय सीमावासी, व्यापारीमात्रै होइन चिनियाँ अधिकारी पनि चिन्तित छन् । इकोरिसोर्ट साइडमा भोटेकोसी नदीले तलतिरबाट जमिन कटान गर्दा बगिरहेको माटोको अवस्था नियन्त्रण नहुँदा गाउँ नै बगिरहेको छ । लालवीर चोक, नादुङ, थामी गाउँ, कोदारी गुम्बा र चौकीडाँडाका दुईसय घर सडकसँगै भोटेकोसी नदीमा भासिँदै गएका छन् ।

नाकाको मुखैमा सडकको भास्सिने अवस्थाले खासाबाट सामान बोकेर आएका ठूला कन्टेनर लिपिङ क्षेत्रमा १५ दिनसम्म रोकिनुपरेको छ । जब वर्षात् सुरु हुन्छ तब कोदारी क्षेत्रमा सडक भासिन थाल्छ । भोटेकोसी नदीको तटमा कडा चट्टान छुने गरी पायलिङ गर्न तीन करोड बजेट छुट्याएको दुई वर्ष बित्यो । कमलजित निर्माण सेवा कन्स्ट्रक्सन पार्टीले ठेक्का लिएको छ । डिभिजन कार्यालय चरिकोटले समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कार्बाही गर्नुको साटो पायलिङ नगरेर झारो टार्ने काम गर्ने गरेको छ । डिभिजन प्रमुख अर्जुन सुवाल र ठेकेदार विवश नेपालको एउटै भनाइँ छ, ‘पायलिङ गर्ने रिङ मेशिन ६० टन गह्रुंगो भएकोले कोदारी पु¥याउन सकिएको छैन ।’ दुवैले यसो भनेको एक वर्ष बित्यो । पायलिङ नगरी टाल्टुले पाराले भासिएको सडक भर्ने र ठेक्का सक्ने गरेकोले वर्षेनीको प्रयास निरर्थक भएको छ । फेरि पनि यस्तै प्रवृत्ति दोहोरिने स्थिति छ । ‘मेशिन कसरी लान सकिन्छ भनेर छलफल चलिरहेको छ,’ डिभिजन प्रमुख सुवालले भने ।

चरिाकोट डिभिजनले कोदारी सडकलाई वर्षेनी गर्ने करोडौँ लगानी बालुवामा पानी खन्याएझैँ भएको छ । सडक बिग्रेर अप्ठेरो परेको ठाउँमा काम नगरी पैसा पचाउन ठेकेदारले सजिलो ठाउँमा अनावश्यक खर्च गरेर बाटो बनाएको स्थानीयको गुनासो छ । हिउँदभर काम नगरी चुपचाप बस्ने ठेकेदार कम्पनी बर्खामा एक्स्काभेटर र लोडर लिएर सडकमा निस्कन्छन् । नदी तटमा पायल गर्ने मेशिन नल्याएर चुपचाप बसेकोले ठेकेदार कम्पनीविरुद्ध स्थानीय बोल्न थालेका छन् । भोटेकोसी चेम्बर अफ कमर्स को अध्यक्ष फुनु शेर्पाले सडकको अवस्थाप्रति सीमावासी चिन्तित रहेको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय मार्गको दूरावस्था हुनु नेपाल सरकारको कमजोरी रहेको औँल्याए । ‘चरिकोट सडक डिभिजनले कोदारी सडकमा गरेको लगानी खेर गएकोले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान पु¥याउनपर्छ,’ उनले भने, ‘नत्र, लामो समयपछि आयात–निर्यात सुरु हुन लागेको तातोपानी नाका राम्ररी चल्दैन ।’ इकोसाइड क्षेत्रमात्रै होइन बाह्रबिसेदेखि लिपिङसम्मका दर्जनौं क्षेत्रमा सडकको अवस्था जीर्ण छ । भूकम्पपछि चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी) ले पनि सडक सुधारमा काम गरेको थियो ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!