बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुँदै
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि मंगलबारदेखि सदनमा सैद्धान्तिक छलफल सुरु हुँदैछ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल हुन लागेको हो। दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्ष एमालेले भने बजेटको संसद्मै भण्डाफोर गर्ने जनाएको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले बजेट ल्याएको उल्लेख गर्दै त्यसको भण्डाफोर गर्न सांसदहरुलाई निर्देशन दिएका थिए।
बजेट अनुचित, बिनासिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै ओलीले त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया