Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बालेन शाहलाई केशव स्थापितको शुभकामना


काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले विजयी स्वतन्त्र उम्मेदवार बालेन शाहलाई आफ्नो तर्फबाट रचनात्मक सहयोग रहने बताएका छन्।

मेयरमा बालेन साह निर्वाचित भएको घोषणा भएपछि शुक्रबार एक वक्तव्य जारी गर्दै स्थापितले विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने गरी काम गर्न शाहलाई शुभकामना दिएका छन्।

‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित बालेन शाहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौं महानगरवासीले तपाईंमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक मतपत्रको तपाईंले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु,’ स्थापितले भनेका छन्।

काठमाडौंको विकास र समृद्धिसँगै शाहले चाल्ने हरेक सकारात्मक काममा आफ्नो रचनातम्क सहयोग रहने स्थापितको भनाइ छ।

‘पाँच वर्षे कार्यकालमा तपाईंको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु। काठमाडौंको विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि तपाईंले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु,’ स्थापितले भनेका छन्।

उनले एमालेको उम्मेदवारका रुपमा काठमाडौंको उपमेयरमा निर्वाचित सुनिता डंगोललाई पनि शुभकामना दिएका छन्।

‘तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु,’ स्थापितले भनेका छन्।

धन्यवाद ज्ञापन

मुलुकको संघीय राजधानीमा अवस्थित ‘काठमाडौँ महानगरपालिका’ मा नेकपा (एमाले)को तर्फबाट म मेयर पदको उम्मेदवार बनेको तपाईंहरु सबैलाई विदितै छ। सबैभन्दा पहिला मलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा (एमाले) प्रति आभार व्यक्त गर्न चाहन्छु।

म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौं म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।
जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन। यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धर्मराएको छैन।

निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौं महानगरवासीले तपाईंमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु।

पाँच वर्षे कार्यकालमा तपाईंको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु। काठमाडौंको विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि तपाईंले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु।

लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु।

 

नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गर्नुभएका अध्यक्ष र विभिन्न वडाबाट विजयी हुनु भएका सदस्यहरु सबैलाई शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह गर्दछु। त्यसैगरी अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई पनि शासक होइन सेवक भएर काम गर्न आग्रह गर्दछु।

अन्त्यमा, मलाई विश्वास गरेर मतदान गर्नुहुने मतदाता, महानरवासी, मेरो उम्मेदवारी दर्तासँगै मेरो चुनावी अभियानमा खटिनु भएका पार्टीको विभिन्न तह–तप्कामा रहनु भएका कमरेडहरु, सुभेच्छुक, स्वयंसेवक, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि तपाईँहरुकै साथमा रहने प्रण व्यक्त गर्दछु ।

धन्यवाद
केशव स्थापित


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!