Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

कांग्रेस संसदीय दलको उम्मेदवारका आ–आफ्नै दाबी


नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहनुभएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज उम्मेदवारी दर्तापछि उहाँहरुले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरुले उम्मेदवारी दिएको तर्क गर्नुभयो । सभापति देउवाका प्रस्तावक रहनुभएका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताउनुभयो । उहाँले सभापति देउवालाई सर्वसम्मतिले संसदीय दलको नेता बनाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्नुभयो ।

यसैगरी सभापति देउवाका समर्थक रहनुभएका पार्टी उपसभापति खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नति प्रगतिलाई द्रुत गतिमा अघि बढाउन तथा पार्टीको हितका लागिसमेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको बताउनुभयो । गठबन्धन दललाई मिलाएर लैजान सक्ने अनुभवको उपयोगिताको आवश्यकता र सबैले स्वीकार्ने नेतृत्वअनुसार सभापति देउवाको उम्मेवारी रहेको उहाँले तर्क गर्नुभयो ।

संसदीय दलको नेताका अर्का उम्मेदवार पार्टीका महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्नसक्ने र संसद्भित्र कांग्रेसको तर्फबाट नेतृत्व गरेर गौरव गर्न लायक काम गरेर सरकार चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनचाहनाअनुसार आफूले पार्टीलाई बदल्ने र देशलाई पनि बदल्ने क्षमताका साथ उम्मेदवारी दिएको तर्क गर्नुभयो ।

महामन्त्री थापाका प्रस्तावक रहनुभएका पार्टीका नेता डा कोइरालाले आफूहरुले विभिन्न चरणमा छलफल गरेर तथा स्थायित्व र निरन्तरताको एजेण्डाका साथ महामन्त्री थापालाई सर्मथन गरेको जानकारी दिनुभयो ।

निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् ।

मतदान बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरु पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ ।

कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!