Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड


उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँहरुको सुझाव छ ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए । नेपालले हाल वार्षिक रु दुई खर्बभन्दा बढीको इन्धन आयात गर्दै आएको छ ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने उल्लेख गर्दै सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जोड दिने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

सरकारी तथ्याङ्कअनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपाली नागरिकको सङ्ख्या ८७ दशमलव एक प्रतिशत रहेकामा यस वर्षको हालसम्ममा सो दर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठालगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपाली नागरिक ६५ प्रतिशत हाराहारी छन् । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग शून्य दशमलव सात प्रतिशत रहेकामा सो दर बढेर हाल तीन प्रतिशत पुगेको केन्द्रका नायब कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो ।

ग्यासभन्दा विद्युतीय चुलोको प्रयोग निकै सस्तो हुने विज्ञको तर्क छ । कार्यक्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत विराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विद्युत् आपूर्ति सुनिश्चित भए धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उहाँको धारणा थियो ।

आधुनिक चुलोको प्रयोगले समयको बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडा वर्तन फोहोर न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताउनुभयो । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाइलाई परिवर्तन गर्नसके विद्युतीय चुलोका प्रयोगकर्ता बढाउन सकिने उहाँको ठहर छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ऊर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिनुभयो । उहाँले ऊर्जा मन्त्रालयले सन् २०२८ भित्र सतप्रतिशत घरधुुरीमा विद्युतीय चुलो उपयोग गर्न लक्ष्य लिएकाले त्यसका लागि विद्युतीय पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रवीनमान सिंहले दिगो विकास लक्ष्य र नेपालले लिएको शून्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलोजस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नेवापसका अध्यक्ष रोशनी अधिकारीले स्वच्छ खाना पकाउने ऊर्जा प्रवद्र्धनका लागि बिजुलीको गुणस्तरीयता र पूर्वाधार विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पु¥याउने, सन् २०२५ भित्र पाँच लाख र सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीले विद्युतीय खाना पकाउन अपनाउनेलगायत लक्ष्य लिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!