Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा


यहाँको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ ।

निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात सय ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ ।

“ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका तीन हजार सात सयको बीमा गर्ने योजना बनाएका हौँ”, गाउँपालिकाका प्रमुख दिनेश लामाले भन्नुभयो । लामाका अनुसार गाउँपालिकाको ६० वर्षमाथि उमेर समूहका वृद्धवृद्धाको निःशुल्क बीमा गर्न थालिएको हो । लामाले भन्नुभयो, “चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।”

बीमा कार्यक्रमअन्तर्गत एक ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्दा परिवारका चार जनाको बीमा हुने अभिकर्ता चेतबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घरघरमै पुगेर गाउँपालिकाको अभिकर्ताले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्नेछन् ।

तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्दा १८ हजार पाँच सय स्थानीयवासीको बीमा हुने जनाइएको छ । स्वास्थ्य बीमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत आकस्मिक सेवा, बहिरङ, अन्तरङ, एचआइभी, हेपटाइटिस, कुष्ठरोग, क्यान्सरलगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनीकरण गर्न स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ ।

रोशी गाउँपालिकमा छ हजार ३९ परिवारमा २३ हजार पाँच सय ५१ जना रहेका छन् । निःशुल्क बीमा कार्यक्रमले ज्येष्ठ नागरिकसहित गाउँपालिकाको कूल जनसङ्ख्याको ७८ दशमलव ५५ प्रतिशतलाई समेट्नेछ । यसअघि गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरी प्रदान गर्दै आएको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस्् भन्ने उद्देश्यले गम्भीर प्रकृतिअन्तर्गत मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको हो ।


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!