Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

पाँचखालको तरकारीमा विषादी र मलको प्रयोग न्यून


काभ्रेपलाञ्चोक, १२ असोज (रासस) ः पाँचखाल नगरपालिकाले यहाँ उत्पादन हुने तरकारीमा विषादी र रासायनिक मलको प्रयोग न्यून मात्रामा रहेको जनाएको छ । त्यसका कारण उत्पादन हुने तरकारीलगायतका खाद्यान्न अर्गानिक बन्दै गएको नगरपालिकाको निष्कर्ष छ ।

नगरपालिकाले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, किसानलाई जैविक विषादी निर्माणार्थ नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोग र विद्यालयस्तरदेखि नै विषादीविरुद्धको चेतनामूलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको हो ।

“तरकारी तथा अन्य बाली अर्गानिक उत्पादन गर्न गरिएका क्रियाकलाप सकारात्मक देखिएको छ, हामीले निरन्तर गरेका परीक्षणमा पनि रासायनिक मल र विषादीको प्रयोग साह्रै न्यून रहेको निष्कर्ष निकालेका छौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो ।

खरेलका अनुसार नगर कार्यालय र लवग्रिन नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायतका बाली अर्गानिक हुँदै गएका हुन् ।

यस्तै खरेलले जापान सहयोग नियोग (जाइका) योकोहामाका कार्यक्रम निर्देशक गोमी चेइचिरो, लवग्रिन जापानका कार्यकारी निर्देशक तोमोको सुजुकी, लवग्रिन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीलगायतको टोलीलाई हालैको अनुगमनका क्रममा हाल पाँचखालमा उत्पादित तरकारीलगायतका बाली अर्गानिक हुँदै गएको नगरपालिकाको निष्कर्षबारे विस्तृत जानकारी गराउनुभएको छ ।

लवग्रिन नेपालले नगरसँगको छलफलमा समेत पाँचखालमा अर्गानिक उत्पादनका लागि आफ्नो परियोजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । खरेलले भन्नुभयो, “लवग्रिन नेपालको थप परियोजना सञ्चालनले ‘पाँचखाल नगर ः कृषि सहर’को अभियानलाई सार्थकता दिनेमा विश्वस्त हुनुपर्छ ।” लवग्रिन नेपालले पाँचखालका विभिन्न स्थानमा विगत तीन वर्षदेखि १८ महिने एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) किसान पाठशाला सञ्चालन गर्दै आएको छ ।

हालसम्म नगरपालिकाका एक हजार दुई सय अगुवा किसानले विभिन्न चरणमा उक्त किसान पाठशालामा अध्ययन गरिसकेका छन् । तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरपालिकाका सबै क्षेत्रमा जैविक विषादी प्रयोगतर्फ लैजान उनीहरुलाई समय र मौसमको तालिका मिलाएर २२ थरीका आइपिएम प्रविधि पढाइँदै आएको छ ।

विद्यालय तहदेखि नै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखालका १३ सामुदायिक तथा सात निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइएको ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराइँदै आएको छ ।

संस्थाले पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता किसान उपयोगी तालिम केही वर्षदेखि दिँदै आएको छ । पाँचखाल–७ का शिवराज श्रेष्ठले तरकारीलगायत अन्य बालीमा रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्दै आउनुभएको छ ।

“जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईवस्तु थप्ने गरेको छु, गाईवस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो । उहाँले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अर्गानिक तरकारी ‘सुरक्षित उत्पादन’ गर्दै आउनुभएको छ ।

पाँचखाल–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुँदै आएको छ”, ढुङ्गानाले भन्नुभयो । उहाँ आफैँ आफ्नो खेतबारीको माटो समयसमयमा परीक्षणसमेत गर्दै आउनुभएको छ ।

पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रुकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखालका कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताउनुभयो । “नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा सूचीकृत हुँदैआएको देखिन्छ”, उहाँले भन्नुभयो

पाँचखालका किसानलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याब)मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आइएको छ । केन्द्रमा करिब तीन वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना सङ्कलन गरी नियमित परीक्षण हुँदै आएको छ ।

सङ्कलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ ।

बागमती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ । काभ्रेपलाञ्चोकसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोटमा आरबीपीआर ल्याब रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!