Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

नवदुर्गाको विशेष पूजा सुरु


काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आज वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १० : २३ बजेको साइतमा घटस्थापना गरी जमरा राखेर विधिवत् रुपमा नवदुर्गाका पूजा आराधना सुरु भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना सुरु भएको छ । घटस्थापनाका अवसरमा शार्दुलजङ्ग गुल्मका सैनिकले बडाइँ गरेको उहाँले सुनाउनुभयो । गुल्ममा पनि घटस्थापनासहित जमरा राखिएको छ । यस अवसरमा मङ्गलिनीले मङ्गल धुन पनि गाएका थिए । यो क्रम महानवमीका दिनसम्म जारी रहने जनाइएको छ ।

नवरात्रका अवसरमा आजैदेखि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी, जयवागेश्वरीलगायत देवी मन्दिर, हनुमानढोका दरबार क्षेत्रका देवी मन्दिरलगायत स्थानका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड देखिन्थ्यो ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रुपमा लिइन्छ । पूजा कोठा वा दसैँ घरमा आज विधिपूर्वक राखिएको घडाको जलले विजयादशमीका दिन अभिषेक गरी समृद्धिको प्रतीक जमरा सहित मान्यजनबाट टीका लगाइन्छ । टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!