Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’


म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर हुनुहुन्थ्यो ।

पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाउनुभएको छ ।

“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर विसं २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए”, उहाँले भन्नुभयो, “त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन्छ जस्तो लाग्यो ।” अहिले सुन्तला खेती पेन्सनजस्तो भएको उहाँले बताउनुभयो ।

चन्दबहादुरले यस वर्ष दुई सय ५० बोटबाट रू दुई लाख ३६ हजारको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो । यसअघि एकै वर्षमा रू चार लाखसम्मको सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो ।

मालिका–७ बिमका ४५ वर्षीय भवीराज जुग्जाली पनि सुन्तला खेती गर्नुअघि कामको खोजीमा २६ महिना साउदीमा बिताउनुभयो । वार्षिक रू चार लाख हाराहारीको सुन्तला बेच्ने जुग्जालीको बगैँचामा तीन सय बोट छन् । “घरव्यवहार चलाउन, छोराछोरी पढाउन सुन्तला खेती गरेपछि सजिलो भएको छ”, उहाँले भन्नुभयो, “दुई लाख कमाउनका लागि विदेशमा गएर श्रम, पसिना बगाउनुभन्दा गाउँकै पाखाबारीमा सुन्तला खेती गर्दा फाइदा र सजिलो छ ।”

सुन्तला बेचेर भएको आम्दानीले जुग्जालीले दुई छोरीलाई पोखरामा स्नातक तहमा पठाउनुभएको छ । श्रीपाली र जुग्जालीजस्तै मालिका गाउँपालिका–७ बिममा पर्ने दुले, नराले, टुनीबोट, दोबाटो, भारवाङ, नौमानेका बासिन्दाले सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

साठीभन्दा बढी घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका भरवाङका हेम पुनले बताउनुभयो । “सडक, यातायातको सुविधा, भूगोल र हावापानी अनुकूल भएकाले सुन्तला खेती फस्टाएको छ”, उहाँले भन्नुभयो “कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ ।”

कृषक शिव गौतमका अनुसार मालिका गाउँपालिकाको वडा नम्बर ७ बाट यस वर्ष रू ९० लाख लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ । “गत वर्ष रू एक करोडभन्दा बढी मूल्यको सुन्तला निकासी भएको थियो”, उहाँले भन्नुभयो, “सुन्तला खेती गरेका घरधुरीमा पुगेर सङ्कलन गरेको विवरणअनुसार यसपालि रू ९० लाखको निकासी भएको छ ।”

यस वर्ष प्रतिकिलो रू ५५ देखि ६५ का दरले सुन्तला बिक्री भएको छ । सुन्तला फूल खेल्ने र बटिला लाग्ने समयमा भएको वर्षा र असिनाका कारण उत्पादन घटेको कृषकले बताएका छन् । पोखरा र काठमाडौँमा बिमको सुन्तला निकासी हुन्छ । गाउँकै युवाहरु मिलेर सुन्तला बजारीकरण गर्छन् । पोखराका व्यापारी पनि सुन्तला किन्न बगँैचामै आउने गरेका कृषकको भनाइ छ । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!