Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

जबरजस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ


जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिन भित्रै पक्राउ परेका हुन् । एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याइएको छ ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम एक एम्पुल, फेनारगन एक एम्पुल र नुर्फिन एक एम्पुलसहित खोटाङ घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई  लागूऔषधसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चितकुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद रु ६१ हजार ५५० प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत अवस्थामा फेला

नागार्जुन नगरपालिका–७ सोतिगाउँ डेरा गरी बस्ने मोरङ घर भएका ५७ वर्षीय ठोमबहादुर दमाई आफ्नै कोठामा मङ्गलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बोलेरोको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

गोदावरी नगरपालिका–१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२–०४१ प ९४२२ नम्बरको स्कुटरलाई मङ्गलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!