भरतपुरमा राडारजडित क्यामरा जडान गरिने
चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो ।
यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने योजना छ । स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक पण्डितले भन्नुभयो “क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ । अन्य काम महानगरपालिकाले गर्ने छ ।” पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उहाँले बताउनुभयो । राजमार्गमा तीव्र गतिका कारण हुने सडक दुर्घटना तथा अन्य आपाराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताउनुभयो ।
“यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ । ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन”, उहाँले भन्नुभयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताउनुभयो । “यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ । जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो”, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब रु १० करोड खर्च हुने छ ।
नारायणगढ (चितवन), १० पुस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : प्रविधी, राजनीति, शिक्षा, समाचार
प्रतिक्रिया