Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

‘मन्त्रालयको काम छाडेर अन्यत्र नभुल्नुस्’


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उहाँले जनताको कामलाई प्रभावकारी रुपमा स्म्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् ।” नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उहाँले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताउनुभयो । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम सुरु गर्ने क्रम सुरु गरिसक्नुभएको जानकारी दिनुहुँदै यस मन्त्रालयमा पनि सोहीअनुसार गर्न निर्देशन दिनुभयो ।

मन्त्री बस्नेतले विकास निर्माणको काममा परेको समस्या समाधानका लागि नीतिगत रुपमा गर्नुपर्ने सुधार के के हुन, वन क्षेत्र प्रयोगको विषयमा के कस्ता निर्णय गर्नुपर्ने हो र भूमि वा प्रसारण लाइन निर्माणमा देखिएका जटिलता के कस्ता हुन्, त्यसको स्पष्ट खाका प्रस्तुत गर्नसमेत मातहतका निकायलाई निर्देशन दिनुभयो । ऐन नै संशोधन गर्नुपर्ने भए पनि तत्काल प्रक्रिया अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव गोपाल सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी र जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले कार्यशैली सुधार गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै कर्मचारीलाई सोहीअनुसार गर्न गराउन आग्रह गर्नुभयो ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका लागि आवश्यक कर्मचारी भर्नाका लागि अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको लामो समयसम्म पनि अनुमति नपाएको गुनासो गर्नुभयो । प्राधिकरणलाई झण्डै चार हजार इलेक्ट्रिकल इञ्जिनियर आवश्यक रहेको तर अनुमति नपाउँदा भर्ना गर्न नसकिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको कार्यविधिका कारण निर्माण व्यवसायी छनोटमा समस्या देखिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

छलफलमा विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बूढीगङ्गा जलविद्युत् आयोजनाका सम्बन्धमा स्रोत सुनिश्चित नभएकाले समस्या समाधान गरिदिनुपर्ने बताउनुभयो । उहाँले जग्गाको हदबन्दीका कारण आयोजना अगाडि बढाउन समस्या देखिएकाले यसमा तत्काल निर्णय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!