पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते इस्लामावाद, ११ भदौ (रासस÷सिन्ह्वा) – पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको
छ । घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अत्यधिक
वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । वर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध
प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन् ।पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या नौ सय ८२
पुगेको प्राधिकरणले जनाएको छ । पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बढी पहिरो सुरु भएको हो । यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका
कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् । त्यसैगरी छ लाख ८२ हजार एक सय ३९ घर क्षतिग्रस्त भएका छन् भने १४९ पुल भत्किएका छन् । प्राधिकरणका अनुसार १२२ पसल तथा
व्यवसायीका प्रतिष्ठानका भवनहरूमा पनि क्षति पुगेको छ । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको
हो । सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । पाकिस्तानमा अहिले अस्वभाविक रुपमा वर्षा भएको र
त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरूले जनाएका छन् । बाढी पहिरोका कारण हजारौँ मानिस घरबार विहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको
प्राधिकरणले जनाएको छ । बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग
सामग्रीहरूको आवश्यकता रहेको बताएका छन् ।
क्याटेगोरी : विश्व, समाचार
प्रतिक्रिया