Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

शिशु किनबेच गर्नेविरुद्द ३ मुद्दा चलाउदै प्रहरी


पाँच लाख रुपैयाँ लिएर शिशु बेच्ने विराटनगरका डाक्टरहरुलाई प्रहरीले ३ वटा मुद्दा चलाउने भएको छ।

कोशी अस्पतालका पूर्वप्रमुख, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई मुद्दा चलाउन लागिएको हो।
पक्राउ परेका ६ जनालाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ती बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलका अनुसार सरकारी वकिलसङ्ग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ। उनले भने, `कुन ऐन आकर्षित हुन्छ, हामी सबैतिरबाट प्रमाण जुटाएर अनुसन्धान गर्न लागिएका छौं । अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपश्चात सरकारी वकिल कार्यालयले अभियोजन तयार गरि सोहिअनुसार मुद्दा दायर गर्नेछौं।´

प्रहरीले यस घटनामा सुरुमा दुई र मंगलबार थप ४ जना गरि अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, अस्पतालका सरसफाइकर्मी र ५ लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्स छन् ।

थप पक्राउ पर्नेमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका-२ की ४६ वर्षीया दिलमाया राजवंशी र ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहाको कल्याणपुर नगरपालिका-१२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ पर्नेमध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

डा. कर्णले ग्रीनक्रस अस्पतालको अपरेसन थिएटर (ओटी) विभागमा कार्यरत सुधामार्फत शिशु बिक्री गरेको खुलेको छ। शिशु खरिद गर्ने निःसन्तान राजवंशी दम्पती सुधाका नातेदार हुन्।

विवाह भएको १ दशक बित्दा पनि दिलमायाका छोराबुहारीको सन्तान नभएपछी शिशु खरिद गरेको उनले स्वीकार गरिन्। प्रहरीले मंगलबार शिशुलाई भेटेर उद्दार गरेको छ।
प्रहरीले डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

असार १३ गते फुलकुमारी ( परिवर्तित नाम) ले छोरी जन्माएपछी शिशु अस्पतालबाटै गायब पारिएको थियो। पछि ती युवतीले आफ्नो छोरी खोज्न थालेपछि यो प्रकरण बाहिर आएको थियो।

 


क्याटेगोरी : राजनीति, विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!