Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा


तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ।

आँबुखैरेनी गाउँपालिका–५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान ७.३० बजे नै घरबाट निस्किनुहुन्छ । गुरुङलाई विद्यालय पुग्न साँढे दुई घण्टा समय लाग्छ । सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ । कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउँ गर्न खर्चिनु हुन्छ ।

बिहान साँढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साँढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ । “बिहानै हिँडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किंदा त रातै पर्छ,” गुरुङले भन्नुभयो । दैनिक यसरी हिँड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उहाँको भनाइ थियो ।

सोही कक्षामा अध्ययनरत लाम्दिको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न पाँच घण्टा हिँड्नुहुन्छ । बिहानै साथीभाइसँग पैदलयात्रा गरेपछि करिब साँढे दुई घण्टापछि उहाँ विद्यालय पुग्नुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो घरबाट विद्यालय पुग्न साँढे दुई घण्टा लाग्छ । साथीहरुसँग हिँडेरै विद्यालय जाने आउने गरेका छौँ ।”

कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ । उहाँले भन्नुभयो, “घर नजिक विद्यालय छैन । यसरी हिँडनुको विकल्प छैन ।” विद्यालयबाट सबैभन्दा टाढाको दूरीमा रहेको ठाउँ हो लाम्दि । यहाँका विद्यार्थी दैनिक यसरी नै हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जानमात्रै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दूरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको बताउनुभयो । “गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको  सुविधाका लागि दुई वटा जीपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउँमा सास्ती हुदैन्”, उहाँले भन्नुभयो ।

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । उहाँले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

विद्यालयलाई बस खरिद गरर दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मङ्गलबारदेखि दुई वटा जीप सञ्चालनमा ल्याएको जनाएको छ । योसँगै भौगोलिक दूरी टाढा भएका विद्यार्थीले अब पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

जीप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जीप चढेर विद्यालय पुग्न २०÷२५ मिनेट लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब एकदम सजिलो हुने भयो । हिँड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ ।”

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र वर्ष अगाडि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौंँ हिँडेर आउँथे । गाउँपालिकाले जीप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ ।”

प्रधानाध्यापक गुरुङका अनुसार दुई वटा जीपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ । वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जीप सञ्चालन गरिएको छ । वडा नं ५ मा चल्ने जीपले बाटोमा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै वडाका करिब ८० विद्यार्थीले यो सुविधा पाएका छन् ।

“वडा नं ५ र ६ को सिमानामा पर्ने खारेडाँडामा रहेको जोखिमपूर्ण भिरको बाटो हिड्नुपर्ने बाध्यता अन्त्य भएको छ”, प्रधानाध्यापक गुरुङले भन्नुभयो, “उक्त ठाउँमा दुई वर्ष अगाडि ग्याबिन जाली भरेर सुरक्षित बनाइएको छ । वर्षाको समयमा बाटो बिग्रिने, पहिरो जानेलगायत समस्याका कारण विद्यार्थीले दुःख पाएका थिए ।”

विद्यालय सुधार अभियानअन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइञ्जेल कन्यादेवीलाई जीप उपलब्ध गराइएको हो ।

अध्यक्ष चुमानले भन्नुभयो, “कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो । त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।” उहाँका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । “गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ”, उहाँले भन्नुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!