Techie IT
  • १४ पुस २०८१, आईतबार
Nepal Gyan

आत्मनिर्भर बन्दै सिरहाका सङ्गठित महिला


सिरहाको धनगढीमाई नगरपालिका-११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्याे । यो सिलसिला वर्षौं चल्यो । तर जबदेखि उहाँले तरकारी खेती सुरु गर्नुभयो, त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्था करिब अन्त्य भएको छ ।

‘शान्ति उद्यम महिला समूह’की सदस्य महतोले सोही समूहबाट रु १० हजार ऋण काडेर व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको थियो । त्यसैबाट सजिलै गर्जो टर्दै आएको महतोको भनाइ छ । समूहमा महिनाको रु दुई सय बचत गर्नेमा किसुनदेवी जस्तै अन्य २३ जना महिला सङ्गठित हुनुहुन्छ ।

उहाँहरुमध्ये कसैले हस्तकला, साना उद्योग त कसैले तरकारी खेती गरेर दैनिक गुजारा टारिरहनुभएको छ । यसले जिल्लाका महिलालाई आत्मनिर्भर बन्न सघाउ पुगेको स्थानीय वीरेन्द्र ठाकुरले बताउनुभयो । महिला समूहमा आवद्धमध्ये तीन जनाले चिया/नास्ता पसल, छ जनाले तरकारी व्यवसाय, दुई जनाले सिलाइबुनाइ, दुई जनाले किराना पसललगायत हाते सीप र कलाको प्रयोग गरी बनाइने बच्चाका खेलौना तथा गुडिया, घर एवम् कार्यालय सजावटका सामग्री बनाउँदै आत्मनिर्भरतर्फ अग्रसर हुनुभएको छ ।

“दश जनाबाट बचत समूह सुरुवात गरेका थियौँ, अहिले २३ जना भएका छौँ”, किसुनदेवीले भन्नुभयो, “महिनामा रु दुई सयका दरले बचत गर्ने गरेका छौँ । करिब तीन लाख बचत पुगिसकेको छ । यसबाट महिनामा एकजना सदस्यलाई रू १० हजारको दरले सस्तो ब्याजदरमा पेसा, व्यवसाय गर्नको लागि ऋण दिने नियम बनाएका छौँ ।”

यसरी महिलालाई आत्मनिर्भरतातर्फ अग्रसर हुन लाहानस्थित गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब’ले सहयोग र उत्साहित गरेको हो भने त्यो प्रयासमा ‘एक्सन नेपाल’ नामक संस्थाको पनि सहयोग रहेको छ ।

सो संस्थाले रु एक लाख शान्ति उद्यम महिला समूहलाई सहयोग गरेको थियो । “विभिन्न संस्था तथा स्थानीय निकायबाट आर्थिक सहयोग, सीपमुलक तालिम पाउँदा हामीलाई निकै राहत भएको छ । यसले छरिएर रहेको सानोतिनो पुँजीलाई जम्मा गरी व्यवसायमा लगानी गर्न पनि प्रेरित गरेको छ”, किसुनदेवीले भन्नुभयो ।

त्यसैगरी लहान नगरपालिका-१२ की सुप्रेखा सदाय विगत चार वर्षदेखि शीतल महिला समूहमा आबद्ध हुनुहन्छ । कुल १७ जना सदस्य रहेको सो समूहले पनि सुरुमा रु पचास बचत गथ्र्यो भने अहिले रु एक सय पुर्‍याइएको छ । क्लबकै सहयोगमा प्राप्त एउटा सिटी सफारी (अटो) बाट एकजना महिला सदस्यलाई रोजगारी दिइएको छ भने नाफाबाट दैनिक रू पाँच सय समूहमा बचत गर्ने गरिएको सुप्रेखाले बताउनुभयो ।

त्यस्तै औरही गाउँपालिका-५ की चाँदनी दाससँगै विगत १० वर्षदेखि ‘दिहिबार मुठ्ठी बचत समूह’ मा २५ जना महिला दिदीबहिनीहरु आवद्ध हुनुहुन्छ । मासिक रु एक सय बचत गर्ने सो समूहमा अहिले कूल पूँजी रु चार लाख पुगेको छ । सोही रकम परिचालन र अन्य सीपमुलक तालिम लिएर यसमा आवद्ध महिला आत्मनिर्भरता बन्दैछन् ।

लहानमा यस्ता कैयन समूह छन् । जसमा सम्बद्ध सदस्य सानो पुँजी लगानी गरेर आत्मनिर्भरतर्फ उन्मुख छन् । यो प्रयासमा स्थानीय सरकारले पनि केही सहयोग गरेको भए व्यवसाय विकासमा थप सहज हुने अपेक्षा यहाँका महिलाको छ । शान्ति उद्यम महिला समूहकी सचिव फुलकुमारी महतो भन्नुहुन्छ, “सरकारले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरिदिएको छ । यसमा यहाँका स्थानीय तहले पनि आर्थिक सहयोग गरिदिए हामीलाई ठूलो राहत हुने थियो । थोरै बचतबाट, थोरैले मात्र सहयोग लिने अवस्थाको पनि अन्त्य हुन्थ्यो ।”

ग्रामीणभेगका आर्थिक रुपमा विपन्न दलित तथा अन्य महिलालाई लक्षित गरेर आयआर्जनमार्फत सशक्तिकरण सहयोग गरिरहेको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्के बताउनुहुन्छ ।

“महिलाको सीप तथा उद्यमशीलता विकास र महिला सशक्तिकरणको माध्यमबाट आर्थिक रूपमा कमजोर र विपन्न महिलाको जीवनस्तर उकास्न उहाँहरुलार्ई सङ्गठित गरी आयआर्जनमूलक काम गरिरहेका छौँ । यसले उहाँहरुलाई निकै राहत भएको छ”, उहाँले भन्नुभयो, “अब यी महिला समूहलाई सहकारीमा रुपान्तरण गर्ने योजना छ । अहिले सहकारी दर्ता तथा त्यसपछि गर्नुपर्ने काम कर्तव्यको बारेमा उहाँहरुलाई तालिम पनि दिइरहेका छौँ ।”

दलित, विपन्न र उपेक्षित समुदायका महिलाले सानो काम गर्दा पनि ऋणको भारी बोक्नुपर्ने विवशताको अन्त्यका लागि यस अभियानले सघाउ पु¥याइरहेको बताउनुहुन्छ राजनीतिक विश्लेषक तथा राष्ट्रिय दलितमुक्ति जागरण अभियानकर्ता राजेश विद्रोही ।

“प्रायः महिलाको स्वामित्वमा निजी सम्पत्ति प्रायः हुँदैन । जसले गर्दा महिलाले हरेक कामका लागि पुरुषहरुमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था छ”, विद्रोही भन्नुहुन्छ, “बेरोजगार पुरुष कामका लागि खाडी मुलुकतिर जाने र महिला परम्परागत कृषि तथा घरायसी काममा नै सीमित हुनुपर्ने अवस्था छ तर पूँजीको अभावमा उहाँहरुको ऊर्जा त्यसै खेर गइरहेको बेला यस्ता सानातिना सहयोगले पनि राहत दिन्छ ।” उहाँले राज्यले नै महिलामुखि नीतिनिर्माण गरी पेसा र व्यवसायसँग जोड्ने योजना तर्जुमाको खाँचो औँल्याउनुभयो ।

त्यसैगरी प्रध्यापक डा विजयप्रसाद मिश्र सरकारले अघिसारेका महिलामुखी नीति तथा योजना पनि कागजमै सीमित हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउनुहुन्छ । “ग्रामीण दूरदराजका विपन्न महिला दिदीबहिनीको जीवनस्तर अहिले पनि कहालिलाग्दो छ । गैरसरकारी संस्था राहत र योजना लिएर गाउँगाउँ पुग्दा आफैँले भोट दिएर जिताएको सरकार त्यहाँ पुग्न नसक्नु विडम्बनापूर्ण छ”, प्रा डा मिश्रले भन्नुभयो, “सीप र क्षमतामा पहुँच नपुगेका, रोजगारीका अवसरबाट वञ्चित र उपेक्षित महिलाको जीविकोपार्जनका लागि उत्पादनसँग जोड्न  सरकारले नीति तथा कार्यक्रम बनाउन र त्यसको कार्यान्वयन गर्न आवश्यक छ ।”

स्थानीय सरकारले पनि लक्षित वर्ग विशेष महिला सशक्तिकरण शीर्षकमा बजेट छुट्याउनुपर्ने व्यवस्था छ । धनगढीमाई नगरपालिका—११ का वडा अध्यक्ष अशोक श्रेष्ठले पिछडिएको क्षेत्र र समुदायका महिलालाई लक्षित गरी विशेष नीति तथा योजना बनाउन आवश्यक रहेको बताउनुभयो । महिला समूहलाई सामूहिक खेती, माछा, कुखुरा, बाख्रापालन गर्न तथा अन्य कार्य गर्नलाई स्थानीय पालिकाबाट आगामी आर्थिक वर्षको बजेटमा निश्चित रकम छुट्टाउन आफूले पनि पहल गर्ने बताउनुभयो ।

त्यस्तै लहान नगरपालिकाका प्रमुख महेश चौधरीका अनुसार नगरपालिकाको तर्फबाट महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाइ, ब्यूटीपार्लर, ढाका, मोबाइल मर्मतलगायतका तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।

यसका लागि लक्षित वर्ग अन्तर्गत महिला सशक्तिकरणका लागि नगर कार्यपालिकाले नीति तथा योजना बनाई निश्चित बजेटको व्यवस्था समेत गर्दै आएको छ । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

महिलाहरु आत्मनिर्भर हुँदा आत्मसम्मानमा वृद्धि हुनुका साथै पारिवारिक तथा व्यक्तिगत जीवनस्तरमा समेत सुधार भई सशक्तिकरणमा उल्लेख्य टेवा पुग्ने हुन्छ । त्यसैले स्थानीय तहले महिला लक्षित उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम अगाडि सार्नुपर्नेमा महिला तथा सरोकारवालाहरुको जोड छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!