Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

गर्भजाँचबारे सचेत बन्दै


टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आउनुभएकी उहाँलाई श्रीमान्को राम्रो साथ छ । “नौ महिना भयो, अब डाक्टरले समय नजिकिएको छ भन्नुभएको छ”, प्रियाले भन्नुभयो, “डाक्टरको सल्लाहअनुसार खानपान र स्वास्थ्य स्याहार गरिरहेकी छु । श्रीमान्ले राम्रो स्याहार गर्नुभएको छ ।”

छ महिना पुगेपछि गर्भजाँचमा आउनुभएकी सपना श्रेष्ठसँगै उहाँकी सासू पनि आउनुभएको थियो । सपनाले पोषिलो खानेकुरा खानुका साथै सासूको राम्रो हेरचाह पाउनुभएको छ । “पहिलोपटक आउँदा डाक्टरले मलाई र सासुआमालाई धेरै परामर्श गर्नुभयो । कसरी खाने, कस्तो काम गर्न मिल्छ, सबै सिकाउनुभयो”, सपना भन्नुहुन्छ, “सासूआमाले मलाई धेरै माया गर्ने, जहाँ जाँदा पनि आफूसँगै जाने गर्नुभएको छ । म खुसी छु ।”

चार महिनाकी गर्भवती जानकी रावलले अहिलेसम्म दुई पटक गर्भजाँच गरिसक्नुभयो । उहाँ यतिखेर नियमित आइरन, क्याल्सियम खानुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ । गर्भावस्थाको पाँच महिना लागेकी रविना चौधरी पनि गर्भजाँचका साथै खानपानमा ध्यान दिइरहेको बताउनुहुन्छ । श्रीमान् घर बाहिर भए पनि रविनालाई घरका सदस्यले राम्रो स्याहार गरेका छन् । “श्रीमान् कामको सिलसिलामा घरबाहिर हुनुहुन्छ, तर उहाँले आर्थिक व्यवस्थापन गरिदिने, दैनिक फोन गरेर मेरो अवस्था बुझ्ने गर्नुभएको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘घरका सदस्यले मेरा लागि सहज वातावरण बनाइदिनुभएको छ । मैले रमाइलो वातावरणमा बच्चा हुर्काइरहेकी छु ।”

सरकारले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न विभिन्न प्रयास गरेको छ । विगतमा चार पटक गर्भजाँचको मापदण्ड राखिएकोमा हाल आठ पटक अनिवार्य गर्भजाँच गर्नुपर्ने व्यवस्था गरिएको छ । यसै वर्षदेखि गर्भवतीको अनिवार्य आठ पटक र आवश्यकताअनुसार त्यसभन्दा बढी पटक स्वास्थ्य परीक्षण हुन्छ । गर्भावस्थामा हुने जोखिम कम गर्न स्वास्थ्य संस्थाले समेत कडाइ गरेका छन् ।

गत वर्षसम्म सुरक्षित मातृत्व कार्यक्रमले चार पटक गर्भजाँच गरे पुग्ने मापदण्ड बनाएको थियो । आमा तथा नवजात शिशुको सुरक्षाका लागि चार पटक मात्र पर्याप्त भएन भन्दै यस वर्षदेखि आठ पटक गर्भजाँच थालिएको छ । अब गर्भवतीले गर्भजाँच पहिलो पटक थाहा पाउने वित्तिकै, दोस्रो पटक १२ हप्तामा, तेस्रो पटक १६ हप्ता, चौथौ २० देखि २४ हप्ताको बीचमा, पाचौँ २८ हप्ता, छैटौँ ३२ हप्ता, सातौँ ३४ हप्ता, आठौँ ३६ देखि ३८ हप्ताको बीचमा गरेर आठ पटक गर्भजाँच गर्नुपर्ने व्यवस्थाअनुसार आमाहरु आउन थालेका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेलले बताउनुभयो ।

पछिल्लो समय गर्भजाँच गर्न आउनेसँग श्रीमान्, सासू तथा घरका अन्य सदस्यसमेत साथमा आउन थालेका र परिवारका सदस्यसँगै आउँदा गर्भवती र पेटमा हुर्किरहेको बच्चाको राम्रो स्याहार पुग्ने सिनियर अनमी खरेल बताउनुहुन्छ । “हामीले हरेक गर्भवतीलाई श्रीमान्, सासू तथा ससुरासँगै ल्याउन भन्छौँ”, उहाँ भन्नुहुन्छ, “श्रीमान् र सासू आउनुहुन्छ तर ससुरालाई पनि शिक्षा दिन आवश्यक भएको छ । घर चलाउने, किनमेल गर्ने अधिकांश पुरुष भएकाले पुरुष बढी सचेत हुन आवश्यक छ ।”

सरकारले सुत्केरीपश्चात्को जाँचसमेत चार पटक गर्नुपर्ने मापदण्ड बनाएको छ । सुत्केरी भएको २४ घण्टाभित्र, तीन दिन, सात दिन र ४२ दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ तर यसो गर्ने निकै कम हुन्छन् । यसरी स्वास्थ्य जाँच गर्न आउन नसक्नेलाई टीकापुर नगरपालिकाका स्वास्थ्यकर्मीले घरमै गएर सेवा दिने गरेका अनमी रमिला रावल बताउनुहुन्छ । “नजिक घर भएका स्वास्थ्य संस्थामै आउनुहुन्छ, टाढा घर भएकालाई घरमै गएर सेवा दिन्छौँ”, उहाँ भन्नुहुन्छ, “आजभोलि सुत्केरीपश्चात्को जाँच गर्नेसमेत बढेका छन् ।”

गर्भावस्था तथा सुत्केरी अवस्था विशेष अवस्था भएकाले यो समयमा महिला तथा नवजात शिशुको विशेष ख्याल गर्न र खानपानमा ध्यान दिन आवश्यक रहेको रावलले बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!