Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने?


तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने? उपचार के हो?

तिजमा दर खाने र ब्रत बस्ने प्रचलन साँस्कृतिक दृष्टिले उपयुक्त होला। तर, आफ्नो ज्यान जोगिए न संँस्कृतिलाई जोगाउन सकिन्छ। त्यसैले तिजको दिनमा परम्पराका नाममा रहेका केही कुरालाई परिमार्जन गर्न जरुरी छ, स्वास्थ्यका दृष्टिकोणले।

तिजको दिन भएकाले नाँचगानमा रमाइन्छ, त्यो दिन शरीरले अरु समयभन्दा बढी पानी र खाना माग्छ। ब्रतका नाममा पानी समेत नखाँदा केहीलाई तुरुन्तै असर देखिन्छ भने केहीलाई कालान्तरमा त्यसको असर पक्के हुन्छ।

दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो। अघिल्लो दिन बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्दै उपचारका लागि अस्पताल आउने महिलाको संख्या हरेक वर्ष बढिरहेको छ।

पानी समेत नखाई ब्रत बस्ने गर्दा धेरै महिलाहरु नाँच्दानाँच्दै ढल्ने वा मुर्छा पर्ने समस्या देखिन्छ। पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ।

मानिसलाई दैनिक करिब २ हजार भन्दा बढी क्यालोरी शक्ति चाहिन्छ। उक्त शक्ति खानाबाट प्राप्त हुन्छ। खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन। यस्तो अवस्थामा उक्त शक्ति शरीरमा सञ्चित बोसोबाट प्राप्त हुन्छ। यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ तर यसले एकैदिनमा कुनै गम्भीर असर गर्ने सम्भावना भने कम हुन्छ। तर, पानी समेत नै नखाई ब्रत बस्दा शरीरमा पानीको मात्र कम हुन गई डिहाइड्रेसन हुन्छ। यसले गर्दा कति महिला बेहोस हुन्छन्। मधुमेह तथा पहिलेदेखि नै कमजोर र दीर्घ रोग भएकाहरुको मृत्यु समेत हुन सक्ने खतरा हुन्छ।

मानव शरीरलाई दैनिक २ लिटरभन्दा बढी पानी चाहिन्छ। निराहार बसेको बेला अझ बढी पानी चाहिन्छ। नाँच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई बढी पानी चाहिन्छ। त्यसकारण महिलाहरुले पानी नै नखाई ब्रत बस्नु आफ्नै स्वास्थ्यलाई असर पुर्‍याउनु हो।

तिजको ब्रतमा अन्न नखाए पनि शुद्ध पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृिष्टकोणले उत्तम हुन्छ।

ब्रतका समयमा कोही महिला मुर्छा परेर ढलेमा तत्कालै पानी, ग्लुकोज पानी वा जीवनजल दिनु पर्छ। यसो गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा नजिकैको स्वास्थ्य संस्थामा लैजानु उपयुक्त हुन्छ।


क्याटेगोरी : समाज, स्वास्थ्य
ट्याग : #Culture, #Health, #Religion

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!