Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

‘ठूलालाई कस्ने नीतिले सबै लगानीकर्ता मारमा परे’ १२ करोडको ‘ब्रेक’ ले सन्तुलन गुमाउँदै शेयर बजार


काठमाडौं । शेयर धितोराखेर शेयरमा नै लगानी गर्नका लागि १२ करोड भन्दा बढी ऋण लिन नपाउने नीतिले शेयर बजार निरन्तर ओरालो लाग्दै गएको छ । बुधबार पनि नेप्से ६० अंकले घटेर २८७६.५९ अंकमा आएको छ ।

राष्ट्र बैंकको १२ करोडको ठूलालाई कस्ने नीतिले सबै लगानीकर्ता मारमा परेका छन् । केन्द्रीय बैंकका पछिल्लो नीतिले म्याचुअड हुनै लागेका ऋणीहरुलाई सबैभन्दा बढी समस्या हुन पुगेको छ । उनीहरुलाई समय नै नदिइ आजको भोली नै रकम बुझाउनु पर्दा बढी समस्या परेको हो ।

राष्ट्र बैंकले सर्कुलर जारी गरेको भोलि वा पर्सीपल्ट नै ऋण परिपक्क हुने अवस्थामा पुगेका ऋणीलाई बढी समस्यामा हुन गएको बैंक तथा वित्तीय संस्थाका जानकार तथा शेयर बिश्लेषक अनलराज भट्टराईले बताए । ‘आज सर्कुलर आयो कुनै लोन भोली म्याचुअड हुने छ भने त त्यो त रिन्यु पनि गर्न मिलेन, त्यसमा लोन थप्न पनि मिलेन । केही गर्न पनि मिलेन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले प्राकृतिक न्याय भन्छौ । प्रकृतिक न्याय नै भएन् । सर्कुलर आएको भोलि पल्ट म्याचुअड हुनेलाई तिमी जे सुकै गर भनेर भन्न पनि मिल्दैन् ।’

राष्ट्र बैंकले शेयर धितोमा राखेर शेयर बजारमा नै लगानी गर्नेहरु सबैलाई एक वर्षको समय दिएको भए हुने थियो । तर, केन्द्रीय बैंकले त्यसो नभनी म्याचुअड भएपछि वा आगामी असारमध्ये कुन पहिला हुन्छ, त्यसैलाई आधारमानी ऋण १२ लाखमा सिमित गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सबैलाई एउटै समय दिएको भए मात्र प्रकृतिक न्यायको सिद्धान्त भित्र पर्ने भट्टराईले बताए । ‘जुन बेलामा म्याचुअड हुन्छ वा अर्थिक वर्ष जुन पहिला हुन्छ भन्दा खेरि कहिले काँही पोलिसी एनाउन्स भएको भोली पल्ट म्याचुअड हुन सक्ने अवस्था हुन सक्छ,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशन आएको भोलि पल्ट नै म्याचुअड भएको भए रिन्यू पनि नहुने भयो । यसले बैंकलाई पनि समस्या र सम्बन्धित लोन लिनेलाई पनि समस्या हुने भयो ।’

अहिले पनि बैंक तथा वित्तीय संस्थामा शेयर धितो राखेर शेयरमा लगानी गर्नका लागि करिव ९ हजारले मात्र ऋण लिएको तथ्यांकले देखाउ छ । ज्यादै थोरैले मात्र ऋण लिएर शेयरमा लगानी गरेका छन् ।

छिमेकी मुलुक भारत र अन्य विकसित मुलुकमा शेयर धितो राखेर ऋण लिने व्यक्तिहरु धेरै भएको जानकारी पनि भट्टराई दिए । ‘भारतमा ब्रोकरबाट फाइनान्सिङ पनि हुन्छ । त्यहा शेयरको धितो राखेर बिजनेश लोन लिन पाइन्छ,’ उनले भने, ‘त्यो भन्दैमा हामीले त्यही नियम लागु गर्नु पर्छ भन्ने छैन् । ’

अहिले मात्र होइन्, बैंकहरुको चुक्ता पुँजी २ अर्बबाट बढाएर ८ अर्ब पुर्याउदा पनि बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लिएर शेयरमा लगानी गरेका थिए । त्यसबेला पनि एक वर्ष भन्दा बढीको समय दिइएको थियो । तर, अहिले शेयरधितो राखेर शेयरमा लगानी गरेकाले पनि १२ करोडको सीमा ल्याउन सबैलाई एक वर्षको समय दिएको भए राम्रो हुने भट्टराईले बताए ।

‘हामीले केही समय पहिला बैंकहरुको पुँजी ८ अर्ब पुर्यायौं । कतिले लोन पनि लिएर पुँजी पुर्याएका छन् । ५७/५८ अर्ब (राइट इस्यु) हकप्रद शेयरबाट भएको छ । त्यो राइट इस्यु कतिले लोन नै लिएर पनि हाले । त्यसमा संस्थापक शेयर पनि छन् । संस्थापक शेयरधनीले ‘एक्जिट’ हुन तुरुन्त बिक्री गर्न पाइदैन्,’ उनले भने, ‘त्यसको बिक्री गर्ने प्रक्रिया छ । त्यसलाई बिक्री गर्नका लागि बिभिन्न प्रक्रिया गर्नु पर्ने हुन्छ । त्यस्ता शेयरलाई पनि अफ्ठयारो पर्छ । त्यसकारण कस्तोलाई गर्ने के गर्ने भन्ने पनि हेर्नु पर्छ । सयम अलिकति दियो भने त नहुने के छ र ?’

राष्ट्र बैंकले सबैलाई समान हुने गरी नीति ल्याउनु पर्नेमा भट्टराईले जोड दिए । ‘समय दियो भने त्यो आफै म्याचुअड हुन्छ । त्यो आजै तिर्न न नपरोस । उसले पनि सयम पाओस,’ उनले भने, ‘जस्तो एक वर्षपछि हुनेले त एक वर्षको समय पायौं । आजै म्याचुअड हुनेलाई त न्याय भएन् । त्यसकारण नियमहरुमा सबैलाई समान नियम ल्याउनुपर्छ । आगामी असारमसान्तभित्र १२ कराेडमा सिमित  गरिसक्नु पर्ने छ भनेको भए, के बिग्रन्थ्याे र । त्यसो गरिएको प्राकृति न्याय पनि पुग्थ्यो । अहिले त प्राकृतिक न्याय त पुगेन् ।’

अर्का शेयर बिश्लेषक आनन्द कुमार भट्टराईले पनि राष्ट्र बैंकले ल्याएको नीति आफैमा नराम्रो नभएपनि समय नै नदिइ एकै पटक घ्याच्च ब्रेक लगाउँदा समस्या आएको बताए ।

‘१०० किलो मिटरका दरले कुदेको गाडीमा अकस्मात ब्रेक लगाउँदा के हुन्छ अहिलेको अवस्था त्यही हो, अरु केही होइन्,’ उनले भने, ‘ठूला लगानीकर्तालाई कस्ने नीतिले सबैलगानीकर्ता मारमा परेका हुन् ।मारमा त निमुखा र सर्वसाधारण नै पर्ने हुन् । ठूलाले त पहिला नै पैसा कमाइ सकेका छन् । घट्दो बजारमा पनि उनीहरुले अनेक जुक्ति निकाल्छन् । त्यसकारण नेपालमा जे मा पनि यस्तै हो । अन्तिमा ब्रेक लगाउने गरिन्छ ।’

राष्ट्र बैंकले अहिले १२ करोड सीमा ताेकेकाे छ, भोली १० करोड ताेक्न पनि सक्छ । अहिले भन्दा पनि बढी २० करोड नै राख्न सक्छ । तर, अहिले जस्ताे एकै पटक ब्रेक नलगाएरकाे भए हुने थियाे ।

१ वा २ वर्षको समय दिएको भए मात्र पनि राम्रो हुने भट्टराईले बताए । ‘हिजो राज्यले त्यो सुविधा दिएको थियो । त्यही सुविधाको उपभोग गरेका थिए । राज्यलाई ठगेर वा ढाटेर ल्याएको त होइन,’ उनले भने, २/४ जनालाई सजाय गर्ने नाममा सबै लगानीकर्तालाई बन्धक बनाउनु राम्रो होइन् ।’


क्याटेगोरी : अर्थ, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!