Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

‘बुद्धका उपदेश अनुसरणबाट नै शान्ति र समृद्धि’


बुद्धका उपदेशको अनुसरणबाट नै मुलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरूले बताउनुभएको छ । सबै वर्ग समुदायबीच समन्वय र मिलाप कायम हुन थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरूले त्यस्ता उपदेशलाई विश्वव्यापी बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले २५६७औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजना गरेको ‘समृद्धिका लागि शान्ति ः सम्बुद्ध’ विषयक परिसंवाद कार्यक्रममा बोल्दै वक्ताहरूले बुद्धका उपदेशको अनुसरणमा जोड दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्याक्ष भिक्षु मेत्तेयले वर्ग समन्वयबाट शान्ति कायम हुने उपदेश बुद्धले दिएको बताउनुभयो । विश्वका धेरै मुलुकमा वर्गीय सङ्घर्षका क्रान्तिहरू भए पनि त्यसले मात्रै शान्ति र स्थायित्व हुन नसक्ने भन्दै उहाँले वर्ग समन्वयबाटै शान्ति र समृद्धि हुन सक्ने बताउनुभयो । उहाँले हाम्रो मुलुकको समृद्धिका लागि पनि बुद्धले भनेजस्तै वर्गीय समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

बुद्धजयन्ती बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण गरी त्रिसंयोग भएको भन्दै उहाँले यो समयमा बुद्धका उपदेश अनुसरण गर्दै बुद्धलाई सम्झिनुपर्ने बताउनुभयो ।

बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलक आचार्यले बुद्धका उपदेशको अनुसरण तथा प्रवर्द्धनबाटै समृद्धि हासिल हुने बताउनुभयो । थाइल्याण्डको धम्मकाय विश्वविद्यालयले गरेका कार्यको स्मरण गर्दै उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध संस्कृति, दर्शनको खोजमार्फत प्राज्ञिक कार्य गर्दै आइरहेको बताउनुभयो ।

“अबको दशक प्राज्ञिक र सृजनात्मक अभियानका साथ प्राज्ञिक कार्यलाई शान्ति र समृद्धिसँग जोडर विश्वविद्यालयले काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “बुद्धका उपदेशको अनुसरणले शान्ति र स्थायित्वमा महत्त्वपूर्ण टेवा पुग्छ । त्यसमा जोड दिएका छौँ ।”

विश्वविद्यालयका बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले बुद्ध जन्म र मृत्युको मितिलाई आधार मानेर बुद्धजयन्ती मनाउने गरिएको भन्दै उहाँले बुद्ध पूर्णिमा जन्ममात्रै नभएर त्रिसंयोग रहेको बताउनुभयो । अनुसन्धान केन्द्रका निर्देशक प्रा डा गितु गिरीले बुद्धजयन्तीलाई लुम्बिनी क्षेत्रका समुदायसहितको अपनत्व दिएर मनाउन सकिने बताउनुभयो । उहाँले दर्शन, संस्कृतिको खोज अनुसन्धानले नै बुद्धलाई जीवन्त बनाइरहने भन्दै हरेक नागरिकमा बुद्ध उपदेश पु¥याउने गरी अनुसन्धान केन्द्रले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अनुसन्धान केन्द्र सञ्चालक समितिका सदस्या प्रा डा भोजराज कडेरिया, विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्ले, उपप्राध्यापक डा ङिमा शेर्पा, दयानिधि गौतम, पर्यटन व्यवसायी लीलामणि शर्मालगायतले शान्ति र समृद्धिका पक्षमा रहेका बुद्धका उपदेशहरूको चर्चा गर्नुभयो । कार्यक्रममा केन्द्रीय क्याम्पसले प्रकाशन गरेको लुम्बिनी प्रभा जर्नलको विमोचन गरिएको थियो । विश्वविद्यालयले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा प्रज्ञास्तुपा परिसरमा बौद्ध पूजा तथा दीप प्रज्वलन गरेको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!