Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सङ्कटमा हाते कागज उद्योग


बागलुङको गलकोट–१० पाण्डवखानीस्थित ‘घुम्टे हाते कागज उद्योग’ वर्षदिनयता बन्द छ । जिल्लाको काठेखोला र तमानखोलामा खुलेका कागज उद्योगको नामनिसान छैन । ताराखोला–५ मा सञ्चालित दुई उद्योग पनि बन्द हुने स्थितिमा छन् ।

पछिल्ला केही वर्षयता म्याग्दीका तीन नेपाली हाते कागज उद्योग बन्द भए । मालिका–३ को ‘मालिका कागज उद्योग’ मात्र अहिले सञ्चालनमा छ । छिमेकी पर्वतले पनि कागज उद्योग जोगाउन सकेन । यसरी धमाधम उद्योग बन्द हुन थालेपछि हाते कागजको पेसा नै सङ्कटमा परेको छ ।

कागज उद्योगमा आश्रित गाउँलेले रोजीरोटी गुमाउन थालेका छन् । रैथाने सीप र उत्पादन हराएर जाने चिन्ता थपिएको छ । कोभिड–१९ महामारीअघि हाते कागजको माग धान्नै धौधौ परेको बताउने उद्योग सञ्चालकहरु अहिले निराश भएका छन् ।

‘घुम्टे हाते कागज उद्योग’ का सञ्चालक चुराबहादुर घर्तीले उद्योग नै बन्द गरेर गाउँ छाडेको स्थानीय चन्द्रकुमारी श्रीसले बताउनुभयो । “सुरुमा समुदायले नै उहाँलाई उद्योगको जिम्मा लगाएको हो, केही वर्ष राम्रै चल्यो, अहिले बन्द छ”, श्रीसले भन्नुभयो, “उद्योगको लगानी खेर जाने अवस्था आएको छ ।”

तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घलगायत सङ्घसंस्थाले उद्योग खोल्न सहयोग गरेका थिए । हाते कागज उद्योग खुलेपछि वनमा लोक्ता सङ्कलनदेखि प्रशोधन गरेर कागज बनाउनेसम्मका काममा गाउँले जोडिएका थिए ।

गाउँमै उद्यमी भएर बस्न पाउँदा उद्योग सञ्चालक घर्ती पनि मक्ख हुनुहुन्थ्यो । उद्योगमा वर्षमा डेढ लाख थान कागज उत्पादन हुन्थ्यो । एक कोरी कागजको रु ११ सय मूल्य थियो । उद्योगबाट वर्षेनी झण्डै १० लाख बराबरको कागज बिक्री हुन्थ्यो । उद्योगमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

ताराखोला–५ को ‘डुडेलेक हाते कागज उद्योग’ का सञ्चालक हर्कबहादुर घर्तीले हाते कागज व्यवसायका लागि सीपयुक्त जनशक्ति, उन्नत प्रविधि र बजार प्रवद्र्धनको खाँचो औँल्याउनुभयो । हाते कागजको बजार माग हेरेर उद्योग सञ्चालनमा ल्याइएपनि अहिले सञ्चालन गर्न हम्मे परेको उहाँको भनाइ छ ।

“पहिले उद्योगमा छ जनाले काम गथ्र्यौँ, अहिले दुई जना मात्र छौँ”, सञ्चालक घर्तीले भन्नुभयो, “जेनतेन उत्पादन गरेको काजगलाई बजार पु¥याउनै हामीलाई गाह्रो भइरहेको छ, भाडा तिरेर काठमाडौँ लैँजादा उल्टै घाटा व्यहोर्नुप¥यो ।”

एकातिर हाते कागजको बजार सहज नहुनु र अर्कातिर बिक्री भइ हाले पनि कम नाफा हुने भएपछि व्यवसायीले हात झिक्न थालेको उहाँको भनाइ छ । कामदार अभावमा बेलैमा कागज उत्पादन गर्नसमेत नसकिएको सञ्चालक घर्तीले बताउनुभयो । कोभिड–१९ यता उद्योगले थप चुनौती खेपिरहेको उहाँले उल्लेख गर्नुभयो ।

म्याग्दीको मालिका–३ स्थित ‘मालिका कागज उद्योग’ का सञ्चालक मोतीराज गौतमले गाउँमा काम गर्ने मान्छे नै पाइन छाडेको सुनाउनुभयो । “कागज बनाउन चाहिने लोक्ताको कमी छैन, गुणस्तरीय कागज बनाउन सके बजारको पनि समस्या छैन”, उहाँले भन्नुभयो, “बरु मुख्य समस्या जनशक्तिको छ ।”

उहाँका अनुसार वनबाट लोक्ता सङ्कलन गरेर ल्याउन ठूलो जनशक्ति चाहिन्छ । व्यवसायीले सो कामका लागि ज्यालादारी श्रमिक खटाउने गर्छन् । लोक्क्ता झिके वापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ । गौतमको उद्योगमा वार्षिक एक हजार छ सय कोरी कागज उत्पादन हुँदै आएको छ ।

त्यहाँ उत्पादित कागज बेनी, बागलुङ हुँदै पोखरासम्म आइपुग्छ । सञ्चालक गौतमका अनुसार पाँचदेखि सात ग्राम (आकार २०÷३०) सम्मको कागजको मूल्य साढे छ रुपैयाँ पर्छ । १५ ग्रामको रु १७ र २२ देखि २८ ग्रामको रु १९ मा बिक्री हुन्छ । गौतमले अन्य उद्योगबाट पनि खरिद गरेर कागज बेच्दै आउनुभएको छ ।

“ताराखोलामा कागज बिक्रीको समस्या रहेछ, म आफैँ गएर सकेजति उत्पादन गर्नुस् बजार म पु¥याउँछु भनेको छु, अघिल्लो महिना गएर डेढ लाखको कागज उठाए, त्यहाँका व्यवसायी उत्साहित हुनुहुन्छ”, उहाँले भन्नुभयो । हाते कागज बनाउने व्यवसायमा गौतम अगुवा उद्यमी हुनुहुन्छ ।

हाते कागज उद्योगको संरक्षणका लागि राज्यका निकायले सीप, प्रविधि र अनुदान सहायता दिनुपर्ने उहाँको माग छ । बिनाझण्झट उद्योग दर्ता र सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने गौतमले बताउनुभयो । उत्पादन गर्न सके हाते कागजलाई बजारको समस्या नरहेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो । “लागत र मेहनत बढी लाग्ने हुँदा यसमा उद्यमीको आकर्षण कम छ”, उहाँले भन्नुभयो, “लगानी र प्रविधि भित्राएर ठूलो मात्रामा उत्पादन गर्न सके फाइदा छ ।”

लगानी, दक्ष जनशक्ति र व्यवस्थापन अभावमा उद्योग बन्द भइरहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले नेपाली हाते कागजको व्यावसायिक प्रवद्र्धनका लागि उत्पादनमा विविधिकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले हाते कागजका लागि स्रोतको कमी नभए पनि उन्नत सीप, प्रविधि र दक्ष जनशक्ति अभाव रहेको बताउनुभयो । “बागलुङ, म्याग्दीलगायत गण्डकी प्रदेशका उच्च पहाडी भेगमा लोक्ता र अर्गेलीको प्रशस्त स्रोत छ”, उहाँले भन्नुभयो, “त्यसको दिगो उपयोग र संरक्षण गर्नु आवश्यक छ ।”

वर्षेनी ठूलो मात्रामा कागज विदेशबाट आयात भइरहेका बेला स्थानीय कागजको प्रवद्र्धनका लागि राज्यले दायित्व लिनुपर्ने सचिव घिमिरेले बताउनुभयो । “कम्तीमा सबै सरकारी अड्डामा नेपाली कागजको प्रयोगलाई प्रोत्साहन गरौँ, नेपाली कागजबाट बन्ने हस्तकलाका सामग्रीलाई ब्राण्डिङ गरौँ”, उहाँले भन्नुभयो ।

सचिव घिमिरेले लोक्ताको पकेट क्षेत्र पहिचान गरेर दिगो उपयोगका लागि आवश्यक कानुनी प्रबन्ध, कार्ययोजना र नीति तय गर्नुपर्ने उल्लेख गर्नुभयो । रैथाने सीपले मात्र बजार माग नधान्ने भन्दै उहाँले उन्नत प्रविधि भित्राएर ठूलो मात्रामा कागज उत्पादन गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय लोक्ता फिट्न (झोल) बनाउन यन्त्रको प्रयोग हुन थालेको छ । केही वर्षअघिसम्म लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो । सरकारी कामकाज र हस्तकलाका सामग्री बनाउन नेपाली हाते कागजको बढी प्रयोग हुन्छ । नेपाली हाते कागज बलियो र टिकाउ मानिन्छ ।

गण्डकी, १८ वैशाख (रासस)

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!