Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

पटकथा लेखनमा विज्ञको ध्यान भाषा, कला र संस्कृतिको संरक्षण l


नेपाल ज्ञान,

चलचित्र निर्माणमा सबैभन्दा महत्वपूर्ण स्थान रहने पटकथा लेखनबारे विज्ञहरुले सुझाव दिएका छन् । मौखिक सुझावमा भनिएको छ– कुनैपनि चलचित्र निर्माण गर्दा रहने मुख्य भाग पटकथाले मातृभूमि र माटोको मर्म बोल्नुपर्छ ।
यस्तो सुझाव शेर्पा चलचित्र संघ नेपालले आयोजना गरेको साताव्यापी लामो पटकथा लेखन प्रशिक्षणमा विज्ञहरुले दिएका हुन् । प्रशिक्षण ८ चैतदेखि १४ गतेसम्म चलेको थियो । महावाणिज्यदूत, सफल पर्यटन व्यवसायी तथा प्रशिक्षण उद्घाटनसत्रका प्रमुख अतिथि आङ्छिरिङ शेर्पाले चलचित्र पनि समाज देखाउने ऐना र प्रतिविम्व भएकोले यसको पटकथामा सम्बन्धित देशको माटो झल्कने तथा भाषा, कला र संस्कृतिको संरक्षण गर्ने हुनुपर्ने बताएका छन् । उनले भने, ‘हामीले निर्माण गर्ने चलचित्रमा हाम्रो भाषा, संस्कृति र कला हुनुपर्छ जसले समाजको प्रतिविम्व गरोस् ।’
शेर्पा समुदायको पहिलो फिल्म खाङ्रीका निर्देशकसमेत रहेका वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बाले पनि सोही कुरामा जोड दिए । उनले पनि भने, चलचित्रको पर्दामा हाम्रो भाषा, कला र संस्कृति आउनुपर्छ । जसले हामी बसेको समाजको प्रतिनिधित्व गरोस् । त्यसैगरी शेर्पा चलचित्र संघ नेपालका अध्यक्ष छोङ्बा शेर्पा रिन्छेन र महासचिव छिरिङ शेर्पाले चलचित्र निर्माणमा सबैभन्दा ठूलो भूमिका पटकथा लेखनको हुने बताए । शेर्पाद्वयले सहभागीलाई प्रशिक्षण दिनुको मूलयधेय नै भाषा र संस्कृतिको संरक्षण गर्नु भएको बताएका थिए ।
चलचित्र विकास बोर्डको सहयोगमा शेर्पा चलचित्र संघले निकै मिहिनेत गरेर प्रशिक्षण कक्षा सञ्चालन गरेको थियो । जहाँ २३ प्रशिक्षार्थीले पटकथा लेखनको अभ्यास गरे । प्रशिक्षणमा सहभागी नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि फुनु शेर्पाले चलचित्रको पटकथा लेखन जीवनको एउटा पक्ष रहेको अनुभूति गरे । उनले भने, ‘धेरै मिहिनेत गरेर हामीलाई शेर्पा चलचित्र संघ नेपालले लेखन प्रशिक्षण दियो । पटकथा लेखन सिक्दा आफ्नो समाजलाई भाषा, कला र संस्कृतिमा बुझ्ने मौका पाएँ ।’ मुख्य प्रशिक्षक शिव मुखियाले पटकथा लेखन सिकाएका थिए । प्रशिक्षण समापनपछि प्रशिक्षक मुखियालाई सम्मानपत्र र प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


क्याटेगोरी : विविध, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!