Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रवि लामिछानेको राजनीतिक लाइनः गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताकै पक्षमा उभिने


काठमाडाैं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेपश्चात उनीमाथि लागेको एउटा आरोप हो- आफ्नो राजनीतिक लाइन नखुलाएको । पार्टी घोषणासभामा रविले देशका मुख्य राजनीतिक विषयवस्तुमा मौनता साँधेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणपन्थी हो वा वामपन्थी ? गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे उसको अडान के हो ? २०७२ मा जारी संविधानप्रति यो पार्टीको दृष्टिकोण के छ ? यस्ता जिज्ञासाहरु जनमानसमा छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ । उक्त पत्रकार सम्मेलनमा पार्टीमाथि उठेका विभिन्न प्रश्नको जवाफ दिनुको साथै राजनीतिक एन्जेडाबारे पनि रविले प्रष्टाउने छन् ।

पार्टी गठनको घोषणा गर्नुपूर्व रविले विभिन्न पार्टीहरुसँग नेगोसिएसन गरेका थिए । उनको सबैभन्दा सघन संवाद राप्रपासँग भएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै रविसँग पटक-पटक कुराकानी गरेका थिए । राप्रपा राजतन्त्र, हिन्दूराज्य र एकात्मक राज्य प्रणालीको वकालत गरिरहेको पार्टी हो । यो पार्टीसँग नेगोसिएसन गर्नुको मतलब रविको राजनीतिक लाइन पनि यही नै हो कि भन्ने प्रश्न उब्जेको थियो ।

निकट स्रोतका अनुसार रवि राजतन्त्रप्रति सदासय राख्छन् । तर, राजावादी भनेर चिनिन चाहँदैनन् । संघीयताका आलोचक भए पनि संघीयताको विपक्षमा आफूलाई उभ्याउने मुडमा छैनन् । यस्तै धर्मनिरपेक्षतामा पनि प्रश्न उठाउने उनको सोच छैन ।

रविनिकट स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान संविधानको एउटा व्यवस्थामा मात्रै परिवर्तन चाहेको छ । त्यो हो प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन पद्धति । प्रधानमन्त्री र मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने वकालत रविले घोषणासभामा नै गरेका थिए । योबाहेक संविधानका सबै विषयवस्तु पार्टीले स्वीकार्ने स्रोतले बतायो ।

‘उहाँले राजावादी होइन, गणतन्त्रवादीकै रुपमा राजनीति गर्नुहुनेछ । संघीयता र धर्मनिरपेक्षताको विषयमा पनि उहाँले कुनै असहमति राख्नुहुने छैन’, स्रोतले भन्यो ।

घोषणासभामा रविले आफ्नो पार्टी व्यवस्था परिवर्तन गर्न नभई अवस्था परिवर्तन गर्न गठन भएको बताएका थिए । मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको भनाइबाट संघीयताको स्वीकार्ने अर्थ लाग्छ ।

‘यदि असल नियतका साथ इमानदारीपूर्वक काम गर्ने हो भने यही संविधानमा टेकेर पनि देश बदल्न सकिन्छ’, रविले भन्दै आएका छन् ।
रविले घोषणासभामा पार्टीका ७ विशेषताहरु सुनाएका थिए । ती विशेषतामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्नेबाहेक अरु राजनीतिक एजेन्डा थिएनन् ।

नाम र चुनावचिन्हको अन्योल

रवि लामिछानेको पार्टीको नामलाई लिएर अहिले तीव्र विवाद उत्पन्न भइरहेको छ । विभिन्न स्वतन्त्र उम्मेदवारहरुले यो नाममा आपत्ति जनाएर आयोगमा निवेदन दिएका छन् । आयोगले नै यसको छिनोफानो गरोस् भन्ने रवि चाहन्छन् ।

यता आयोगले भने तत्काल यो छिनोफानो नहुने संकेत गरेको छ । दल दर्ताको निवेदन र यसमाथि परेका उजुरीहरु एउटै फाइलमा पेस गरेर कानूनी टिमले अध्ययन गरेपश्चात निर्णय लिइने आयोग स्रोतले बतायो ।

‘दल दर्ताको प्रक्रिया पुरा हुन कम्तिमा पनि २०-२५ दिन लाग्न सक्छ’, स्रोतले भन्यो, ‘नाम र चुनाव चिन्हको एकैसाथ टुंगो लाग्छ ।’

राष्ट्रिय स्वन्तन्त्र पार्टीले घन्टी चुनाव चिन्ह मागेको छ । अहिले सक्रिय कुनै पनि दलहरुसँग यो चुनाव चिन्ह छैन । तर, एक वर्षयता खारेजीमा परेको कुनै दलले यो चिन्ह लिएको पाइएमा रविले पाउँदैनन् । त्यसपछि आयोगले उनलाई तीनवटा बैकल्पिक चिन्ह प्रस्ताव गर्नेछ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!