Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

रविको स्वतन्त्र पार्टी : मुख्य राजनीतिक मुद्दामा मौन, घण्टीले गर्ला चमत्कार?


काठमाडौं ।  टेलिभिजन पत्रकारिता गर्दै आएका सञ्चारकर्मी रवि लामिछानेले राजनीतिक दल गठन गरेका छन्।

राष्ट्रियसभा गृहमा मंगलबार एक कार्यक्रमम आयोजना गरेर उनले नयाँ दल घोषणा गरेका हुन्।

लामिछानेले दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखिएको छ। ‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छु,’ उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ– राष्ट्रिय स्वतन्त्र पार्टी।’
लामिछानेले २१ सदस्य रहेको पार्टी मंगलबार नै निर्वाचन आयोगमा दर्ता गरिने पनि जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय वसुन्धरामा मंगलबारबाटै सञ्चालन हुने पनि उनले बताए।

लामिछानेको पार्टीको चुनाव चिन्ह ‘घण्टी’ रहेको छ। ‘अब भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौँ’, दल घोषणा सभामा प्रस्तावित चुनाव चिन्ह सार्वजनिक गर्दै उनले भने, ‘यो सुशासनको घण्टी हो। भ्रष्टहरुका लागि एउटा जनाऊ घण्टी हो। अर्को विकास र सुशासनको यात्राको घण्टी हो। सुरुवात हो।’

लामिछानेले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेकोसमेत बताए।

‘यो आम निर्वाचन हो। हामी बहुदलीय व्यवस्थामा छौँ। लोकतान्त्रिक व्यवस्थामा छौँ। उहाँ स्वतन्त्र रुपमा उम्मेदवार हुनेलाई मेरो असाध्यै सम्मान छ। कहीँ न कहीँ, कसै न कसैले युद्ध छेड्नु पर्थ्यो। तपाईंले छोड्नु भएको युद्धमा मेरो साथ छ। समर्थन छ,’ उनले भने, ‘तर, नआत्तिनुस् हामीले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएको हुनाले यो प्लेटफर्म तपाईंको हो। तपार्ईलाई पूर्णअधिकार दिन्छु म।’

लामिछानेले आफ्नो पार्टीमा आवद्ध भएर उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरे। ‘म स्वतन्त्ररुपमा उम्मेदवारी दिन चाहनुहुने क्षमतावान साथीहरुलाई यदि तपाईंसँग क्षमता छ भने सबैभन्दा माथिल्लो तहमा पुग्ने गरी यो पार्टीमा सहभागी हुन स्वागत गर्न चाहन्छु,’ उनले भने।

लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता पनि सुनाएका छन्। उनले आम निर्वाचनका लागि पार्टीभित्र ‘प्रारम्भिक निर्वाचन’ गरेर उम्मेदवार छनौट गरिने जानकारी दिए। उनले कसैको चाकडी गरेको भरमा कुनै पनि उम्मेदवारले टिकट नपाउने दाबीसमेत गरे।

‘हामी प्रारम्भिक निर्वाचन अर्थात प्राइमरी गर्नेछौँ। अर्थात तपाईंले कसलाई आ निर्वाचनमा उठाउने हो भन्ने कुरा सदस्यहरुले पार्टीभित्र प्रारम्भिक चुनाव गरेर चुन्ने छन्,’ लामिछानेले भने, ‘तल्लो तहको सदस्यता लिएको मान्छेको भोट नलिएर कोही नेता हुन पाउँदैन।’

उनले पार्टीका सबै समितिहरुमा बहुसंख्यक युवा समेटिने पनि बताए। ‘बहुसंख्यक युवा, ५० प्रतिशत प्लस १ युवा अनिवार्य हुनेछ। यो युवाको पार्टी बन्नेछ,’ लामिछानेले भने।

उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्थाका लागि पहल गर्ने, ‘राइट टु रिकल एन्ड राइट टु रिजेक्ट’ को व्यवस्था, डिजिटल डेमोक्रेसीको अभ्यास, पार्टीमा परिवारवाद निषेध गर्ने तथा पार्टीलाई भ्रातृ संगठन र कार्यकर्तारहित बनाउने पनि घोषणा गरे।

लामिछानेले संघीयता, धर्मनिरपेक्षता, राजतन्त्र र गणतन्त्रबारे केही उच्चारण गरेनन्। उनले आसन्न निर्वाचनमा आफूले प्रतिष्पर्धा गर्ने जिल्ला र क्षेत्रबारे पनि केही खुलाएनन्।

आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनबाट निर्वाचन लड्न मन भएको उनले बताए।

‘हुन त मलाई झापा, डडेल्धुरा, चितवनबाट चुनाव लड्न मन छ। म झापा, डडेलधुरा, चितवनमा चुनाव लड्न डराएको होइन। तर, सरकारमा को छन् र तिनले कस्तो चुनाव गरेका छन् त्यो इतिहाससँग सचेत छु,’ लामिछानेले भने, ‘यस अर्थमा यहाँ हार्ने, लड्ने सुविधा तपाईँ–हामीलाई छैन। एउटा व्यक्ति हारेर, लडेर फरक नपर्ने भए स्वतन्त्र रुपमा कुनै पनि ठाउँबाट उम्मेदवारी दिएर आफूलाई सुरक्षित गर्थेँ। तर, हामीलाई हार्ने सुविधा छैन।’

उनले राजनीति गर्नेहरुले राजनीतिलाई गिजोलेर राजनीति सर्वसाधारणको पहुँचको विषय नै नभएको जस्तो बनाएकोसमेत टिप्पणी गरे। इमान भएको हरेक नागरिकले राजनीति गर्न सक्ने लामिछानेले जिकिर गरे।

‘राजनीति राजनीति जसरी नै गर्नुपर्ने हुन्छ। राजनीति पत्रकारिताजस्तो नहुने रहेछ, राजनीति समाजसेवाजस्तो नहुने रहेछ’, उनले भने, ‘राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सर्वसाधारणको त यो पहुँचको विषय नै होइन भनेर अचम्मको बनाइयो। त्यसो होइन, राजनीति इमान भएको हरकोहीले गर्न सक्छ।’


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!