Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

काठमाडौंको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख शाह


काठमाडौं ।  मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे।

‘र्‍यापर’को पहिचान बनाएका प्रमुख शाहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन्।

संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ। माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन्। जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय तहले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन्।

प्रमुखमा निर्वाचित ३२ वर्षीय शाहसँग काठमाडौं महानगरको समग्र विकासकाबारेमा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरे र शर्मिला पाठकले गरेको कुराकानीः

काठमाडौंको प्रमुखका रुपमा निर्वाचित हुनुभयो, तपाईंका योजना र प्राथमिकता केके हुन्?

–शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो। महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ। विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ। विद्यालयमा पूर्वाधारको विकास गरिनेछ।

विद्यार्थीलाई भर्ना गर्नुअगावै अभिभावकले अनुभूति गर्नेगरी विद्यालयको स्तरोन्नति गर्नेछौँ । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ। विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ। प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ।

यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ। बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ। कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं। काठमाडौं उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ। यसले गर्दा भोलिका दिनमा देश तथा विदेशबाट आएका पर्यटकसँग भेट हुँदा बालबालिकाले कला, संस्कृति, इतिहासका बारेमा सम्पूर्ण जानकारी दिन सकून्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!