Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सर्भे गरिएकै स्थानमा सबस्टेसन राख्न सङ्घर्ष समितिको माग


अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेसन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको र अहिले सर्भेभन्दा अन्यत्रै राख्न खोजिएको भन्दै परियोजना पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको हो ।

समितिले सुरुमा सर्भे भएको काभ्रेको मण्डन देउपुर–१ हलिदेमा नै सबस्टेसन राख्नुपर्ने अडान राखेको छ । पछि निर्माण कार्य अघि बढाउने क्रममा परियोजनाले काठमाडौँको शङ्खरापुर–३ बोझेनीमा राख्न खोजेपछि समितिले विरोध जनाएको हो । सर्भे गरिएकै स्थानमा परियोजनाको सबस्टेसन नराखे आयोजनाको निर्माण कार्य नै अघि बढाउन नदिने समितिले चेतावनीसमेत दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक तुलाराम तामाङले स्थानीयवासीले अघि सारेका जायज माग पूरा गर्न सरकारले अविलम्ब कदम चाल्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीयवासीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाउनुभयो । परियोजनाको सबस्टेसन सार्नुमा भूमाफियाहरूको चलखेल भएको उहाँको दाबी छ ।

“एसियाली विकास बैंकको लगानीमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाइरहेको अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथा तार बिछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुस १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकडको हामी घोर विरोध गर्दछौैँ”, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राज्यले बनाउने आयोजना जनताको लाभका लागि भए पनि यसले जनतामा निहित आत्मअधिकारसमेत हनन भएको उनीहरूको आरोप छ । साथै, पक्राउ परेका जयमान वाइवा, राजमान स्याङ्बो, लोहाङ लामाको तुरुन्त रिहाइको पनि माग गरिएको छ ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!