Techie IT
  • ९ असोज २०८१, बुधबार
Nepal Gyan

आफ्नो भिसा नक्कली भएको कुरा रुस पुगेपछि मात्रै थाहा भयो…


लाखौँ रकम आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको रु ११ लाख बढी रकम ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म पु¥याएर बेचबिखन गर्न लागेका अवस्थामा नक्कली भिसामा विदेश पठाएर बेचबिखन गर्न लागेको पाइएको छ ।

नेपालबाट रुसको विमानस्थल पुगेपछि त्यहाँको प्रहरीले भिसा नक्कली भएको पत्ता लगाएको थियो । उनलाई झुक्यानमा पारी श्रमशोषणका लागि युक्रेनमा बेचबिखन गर्न लागेको पाइएपछि नेपाल फिर्ता गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी नक्कली भिसा बनाएर मानिस विदेशमा बेचबिखन गर्ने कार्यमा दाङको लमहीका ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोकका २३ वर्षीय रुपेश ढकाल मुछिएका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागार चलानसमेत भएका छन् ।

उनीहरुले सुरुमा पीडितलाई चेक रिपब्लिकमा सीप गार्डको काम लगाइदिने र मासिक रु दुई लाख पारिश्रमिक पाउने लोभ देखाएर वैदेशिक रोजगारीमा जान प्रेरित गरेका थिए । उनीहरुले पटकपटक गरी पीडितसँग रु ११ लाख ५० हजार ठगी गरी दुई वर्षसम्म झुलाएका थिए ।

सुरुमा उनले भारतको नयाँ दिल्लीबाट पठाउने भनी भारत पुर्याए । तर लामो समयसम्म विदेश जाने कुनै प्रक्रिया नै नगरी अलपत्र राखेपछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए । त्यसपछि पैसा फिर्ता माग्न जाँदा नदिएर पोर्चुगल पठाइदिने प्रलोभन देखाएपछि पीडित फेरि विदेश जान पाइने आशमा लोभिएर अर्काै प्रक्रिया सुरु गरेको पाइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।

त्यसपछि उनले भ्रमण भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै रुस पठाइदिए । रुसको प्रहरीले नक्कली भिसामा आएको र युक्रेनमा श्रम शोषणका लागि बेच्न लागिएको भन्दै पीडितलाई विमानस्थलबाटै पक्राउ गरी नेपाल फर्काइदिएको पीडितको भनाइ उद्धृत गर्दै ब्युरोले जनाएको छ ।

उनी नेपाल डिपोर्ट हुँदा यस्ता नागरिक रुसको विमानस्थलमा अलपत्र परेको देखेको पीडितले बताएका ब्युरोले जनाएको छ । नेपाल आएर पीडितले चौधरी र ढकालविरुद्ध मानव बेचबिखन गरेको आरोपमा कात्तिक २२ गते जाहेरी दिएका थिए । सोही जहेरीका आधारमा चौधरीलाई मङ्सिर १५ गते र ढकाललाई १६ गते पक्राउ गरी प्रहरीले पुस ६ गतेसम्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनीहरु मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कसुर गरेको दाबीसहित सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्र दायर भएको थियो । सोही आधारमा काठमाडौँ जिल्ला अदालतको बुधबारको थुनछेक आदेशले दुवै जना पुर्पक्षका लागि थुनामा पठाइएको ब्युरोले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!