Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

विकासको बागडोर सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ


लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न सिंहदरबार प्रवेश गर्नुभएको छ । हाल राष्ट्रियसभा सदस्यका रुपमा रहनुभएका उहाँको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रुपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उहाँले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेता हुनुहुन्थ्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ता पनि हुनुहुन्थ्यो । उहाँ हाल नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

संविधानसभा सदस्यसमेत रहिसक्नुभएका श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको हो । उहाँले उपप्रधान तथा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँका विभिन्न कृति र लेखहरु प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उहाँले जेलजीवन बिताउनुभएको छ । ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा समेत एउटा सन्तुलित समाधानकर्ता वा संयोजन गर्ने कुशल संयोजकका रुपमा उहाँ सक्रिय हुनुभयो ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरुबीच भएको १२ बुँदे सहमति गराउनमा उहाँले खेलेको कुशल संयोजनकारी भूमिकाले उहाँलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।

अठार वर्ष भूमिगत रहनुभएका श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक हुनुभयो । उहाँ केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिक पत्रिकाका सम्पादकका रुपमा काम गर्नुभयो । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको पेरिफेरिमा नै हुनुहुन्छ । मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गर्नुभयो । उहाँ पढ्नमा अत्यन्तै तेज हुनुहुन्थ्यो । सधैँ कक्षाका प्रथम हुनुभयो । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोड्नुभएको थियो । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उनले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका गर्नुभएको छ । उहाँले अर्थशास्त्रमा पनि स्नातक गर्नुभएको छ ।

पन्ध्र वर्षमा एसएलसी पास गर्नुभएका उहाँ १६ वर्षको उमेरमा नै जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई पक्राउ गरेर केन्द्रीय कारागाारमा राखिएको थियो । उहाँ दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल पर्नुभयो । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ पर्नुभयो । मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिनुभएको थियो । २०४७ सालमा मोटो मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य रहनुभयो । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!