Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

‘आर्थिक– सामाजिक विकासका निम्ति बेल्ट एन्ड रोड इनिसिएटिभ उपयोगी’


चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई अघि बढाउन तथा उन्नत विज्ञान र प्रविधिबीच तालमेल मिलाउन चिनियाँ परियोजना फलदायी हुने विश्वास व्यक्त गरेको छ ।

साउदीका उद्योग तथा खनिज सम्पदामन्त्री बन्दर अल्खोरायफले सिन्ह्वासँगको अन्तर्वार्तामा अर्थतन्त्र र व्यापारका क्षेत्रमा दुई देशबीचको सहकार्य एवम् साझेदारीको महत्वमा जोड दिँदै प्रचुर मात्रामा खनिज सम्पदा भएको आफ्नो देश र नवप्रवर्तन तथा उच्च प्रविधिको विकासमा अग्रपङ्क्तिमा रहेको चीनसँगको सहकार्यबाट खनिज स्रोतको विकासमा सघाउ पुग्ने बताए ।

दुवै मुलुकको साझेदारीबाट खनिजको अधिकतम दोहनका साथै अर्थव्यवस्थामा विविधीकरण, अर्धतयार वस्तुको उत्पादन, प्रशोधन एवम् निर्यात बढाउन सहज हुनेमा उनले जोड दिए ।

चिनियाँ कम्पनीहरूको प्रभावशाली प्रदर्शन र अनुभवलाई आफ्नो देशका युवा तथा महिलामा हस्तान्तरण गर्नसके पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य बढ्नसक्ने बताए । साथै उनले द्विपक्षीय सहयोग प्रवद्र्धन अथाह सम्भावना रहेका बताए ।

ऊर्जा र खानी उद्योग बाहेक अनुपम भौगोलिक अवस्थिति एवम् पूर्ण पूर्वाधार भएको साउदी अरबमा फस्टाउँदै गरेको ‘स्टार्टअप’मा लगानी गरेर मध्यपूर्व र उत्तर अफ्रिकामा व्यापार विस्तार गर्ने महत्वपूर्ण केन्द्र बनाउन सकिने भन्दै उनले आफ्नो देशको रेलमार्ग, बन्दरगाह र एक्सप्रेसवे निर्माणमा सहभागी हुन आह्वान गरे ।

मन्त्री अल्खोरायफले भाषा शिक्षा र व्यावसायिक तालिमजस्ता जनता–जनताबीचको आदानप्रदानमा साझेदारी विस्तार गर्न दुवै पक्षलाई आग्रह गरे । चीन आर्थिक क्षेत्रमा मात्रै नभएर अन्य धेरै क्षेत्रमा पनि साउदीको महत्वपूर्ण साझेदार भएको उनले बताए ।

चीनले अघि सारेको विश्वको विकास प्रयासको प्रशंसा गर्दै साउदी मन्त्रीले हाल विश्वले सामना गरिरहेका धेरै चुनौतीको सामना कुनै पनि देश एक्लैले गर्न नसक्ने त्यसनिम्ति सहयोग आवश्यक पर्ने यथार्थ सुनाए । उनले एकापसका सहयोगबाटै विकासका लक्ष्य हासिल गर्न सहज हुने बताए ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!