Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

हङ्गेरीका कलाकारको सांस्कृतिक प्रस्तुति


दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले आज काठमाडौँमा हङ्गेरीका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका छन् ।

नेपाल–हङ्गेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हङ्गेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हङ्गेरीका कलाकारले स्थानीय लोक संस्कृति प्रस्तुत गरेका थिए । उनीहरूले परम्परागत सांस्कृतिक वाद्यवादनसहित सुमधुर गीत सङ्गीत र आकर्षक नृत्य प्रस्तुत गरे ।

हङ्गेरीको रैथाने गीत सङ्गीतको प्रस्तुतिले नेपाल पर्यटन बोर्डको हललाई गुञ्जायमान बनाएको थियो भने उपस्थित नेपालीले भरपुर मनोरञ्जन लिएका थिए । साथमा नेपाली कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो । परम्परागत नेवारी, गुरुङलगायत राष्ट्रिय भाव झल्कने सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

नेपाल–हङ्गेरी चेम्बर्स अफ कर्मसका महासचिव सान्तकुमार श्रेष्ठले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । हङ्गेरीका पाँच जना कलाकारले विविध सङ्गीत र रैथाने नृत्य प्रस्तुत गरेका थिए ।

सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । दुई देशबीचको संस्कृति आदन–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने महासचिव श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष कलाकार कृष्ण मल्लले हङ्गेरीका कलाकारको ऐतिहासिक सांस्कृतिक प्रस्तुतिले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्गीत, माया र जीवन विश्वव्यापी रहेको भन्दै सङ्गीतको कुनै वर्ग, भाषा, भूगोल नहुने बताउनुभयो । उहाँले सङ्गीतले विश्वलाई एकताको भावनामा कैद गरेको उल्लेख गर्नुभयो ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!