Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

पर्यटक लोभ्याउने बस्ती समुदायलाई हस्तान्तरण


 ​सिन्धुपाल्चोक- भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो।
ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका लागि यहाँका समुदायले चासो दिनुपर्ने बताए । उनले डिजिटिल शिक्षा, स्वास्थ्य, स्वस्च्छ खानेपानीका लागि पनि फाउण्डेशनले सहयोग गरेकामा आगामी दिन आवश्यक सहयोगसमेत गरिने जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनःनिमार्णमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिन थप सहयोगको अपेक्षा गरे । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणको रु तीन लाख, चौधरी फाउण्डेशनको रु आठ लाख र रु दुई लाख स्थानीयवासीको गरी प्रति घर रु १३ लाखको लागतमा ६२वटा चार कोठे पक्की घर निर्माण गरिएको र ती घरमा शौचालय, खानेपानी, विद्युत्लगायत सुविधा पनि उपलब्ध गराइएको इञ्जिनीयर शरद दुलालले जानकारी दिए ।

 


 

शैक्षिकसँगै आर्थिक क्षेत्रलाई पनि जोड्न र आयआर्जनका लागि स्थानीयवासीलाई सहज गराउन फाउण्डेशनको सहयोगमा गाउँमै रहेको इँट्टा उद्योगलाई व्यवस्थित र थप विस्तार गर्दै लैजाने योजना रहेको बस्ती निर्माण समितिका अध्यक्ष कर्मासिं लामाले बताए। पानीको समस्यामा रहेका स्थानीयवासीलाई लिफ्टबाट घरघरमा पानी उपलब्ध गराइनाका साथै एकीकृत रुपमा नयाँ पक्की घर पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । विसं २०७२ को भूकम्पमा सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचिमा परेका थिए । हालसम्म ८४ हजार १७५ घर निर्माण भइसकेका बाँकी निर्माणाधीन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईले जनाएको छ ।

जिल्लामा २२ एकीकृत बस्ती    
भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको यस जिल्लाको अधिकांश घर ध्वस्त भएका थिए । भूकम्पले ढलाएका घर पुनःर्निमाणको चरणमा एकीकृत बस्तीको अवधारणा आए पनि सबैतिर त्यो लागू हुन सकेन । अहिले जिल्लाको २२ ठाउँमा एकीकृत बस्ती बनेकामा मेलम्ची १२ मा मात्रै चार वटा एकीकृत बस्ती छन् । विकास र निर्माणका हिसाबले निकै सहज हुने भएकाले एकीकृत बस्ती विकासको अवधारणा ल्याइएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले बताए ।

एउटै वडामा मात्र ४ एकीकृत बस्ती    
मेलम्ची १२ मा मात्र ४ वटा एकीकृत बस्ती निर्माण भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगमा निर्मित ६५ घरको गिरान्चौर बस्ती, ६५ घरकै नम्डोललिङ नमूना एकीकृत बस्ती, सामुदायिक पुनःनिमार्ण पर्यटन परियोजनामार्फत निर्मित १३५ घरको वस्ती र ३१ घरको थाक्ले बस्ती यस वडामा रहेको मेलम्ची नगरपालिकाका इञ्जिनीयर जितबहादुर कार्कीले बताए । नम्डोललिङ बस्तीका लागि योजना बनाइएको र आगामी दिनमा पनि एकीकृत बस्तीको लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख डम्बर अर्यालले बताए ।

पर्यटक लोभ्याउँछ बस्तीले    

एकीकृत बस्तीले पर्यटकलाई आकर्षित गर्ने स्थानीयबासीले बताए। स्थानीय कला र संस्कृति झल्कने भेषभूषा र रहनसहनले गर्दा आन्तरिक तथा बाह्य पर्यटक गाउँमा भित्र्याउन सकिने उनीहरुको भनाइ थियो। पर्यटक प्रवर्धनका लागि होमस्टेको विकास गर्दै आगामी दिनमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना रहेको स्थानीयवासी क्षितिज तामाङले बताए । त्यसका लागि बाह्रै महिना चल्ने सडक, स्वस्च्छ खानेपानी, चेतनाको विकास, एकीकृत बस्तीसँगै अन्य पूर्वाधारको विकास गर्नुपर्नेमा उनले जोड दिए ।   रासस


क्याटेगोरी : समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!