Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

छिनछिनमा पहिरो खस्ने समस्याले प्रहरीलाई सास्ती


गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ ।

पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्दछ । अविरल वर्षाका कारण छिनछिनमा पहिरा खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विक बताउनुहुन्छ । पहिरा पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइ नपुग्दै पुनः पहिरा खसेको जानकारी आएपछि दर्गुनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरुद्व भएपछि पहिरा पन्छाएर सवारी साधान सञ्चालन गरे लगत्तै पुनः राजमार्ग रोकिएको उहाँले जानकारी दिनुभयो । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पानी नरोकिएका कारण पहिरा पन्छाउन पनि सास्ती हुने गरेको छ । उहाँले भन्नुभयो, “कतिखेर कहाँ पहिरा खस्छ थाहै हँुदैन ।” पहिरोका कारण सदरमुकाम दमौली–केशवटार जाने मार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन थालिएको छ ।

छ घर जोखिममा

अविरल वर्षाका कारण विभिन्न स्थानका छवटा घर जोखिममा परेका छन् । व्यास नगरपालिका–१ निर्मलबस्ती नजिक छाब्दीखोला नजिक पहिरा जाँदा तीन घर जोखिममा परेका छन् । पहिराका कारण छाब्दी लिफ्ट खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिममा रहेको स्थानीय अम्मर भण्डारीले जानकारी दिनुभयो । पहिराको कारण उक्त घरका मानिस सुरक्षाका लागि छिमेकीकोमा शरण लिनुपर्ने अवस्था छ ।

त्यसैगरी व्यास नगरपालिका–३ देउराली नगरमा एक घरमा पहिराले क्षति बनाउनुका साथै व्यास–५ मानुङ्गमा दुई घरमा क्षति पु¥याएको छ । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने श्रृङ्ग सडक मार्गमा पहिरो जाँदा पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्लाको घिरिङ गाउँपालिका–५ देउरालीमा पहिरो गएका कारण सवारी आवागमन रोकिएको घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अञ्जान परियारले जानकारी दिनुभयो । सडक विस्तार नगरेसम्म ठूला कुनै पनि सवारी साधन चल्न नसक्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।

खानेपानीको समस्या

तीन दिनदेखि अविरलरुपमा परेको वर्षाका कारण खानेपानीको समस्या पनि सर्वसाधारणले उत्तिकै भोग्नुपरेको छ । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप पहिराले बगाएपछि खानेपानीको समस्या भएको हो ।

खानेपानीको पाइप पहिराले बगाएपछि धारामा पानी नआउँदा कहाँको पानी खाने भन्ने चिन्ता वडाबासीलाई रहेको छ । तीन दिनदेखि धारमा पानी नआएको स्थानीय कबिता कोइरालाले जानकारी दिनुभयो । वडामा रहेका करिब तीन हजार उपभोक्ताले उक्त खानेपानी समितिले वितरण गर्दै आएको पानी उपभोग गर्दै आएका थिए ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!