Techie IT
  • ८ मंसीर २०८१, शनिबार
Nepal Gyan

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु


काठमाडौँ, १३ भदौ (रासस) ः लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) दिइएको जानकारी दिनुभयो । उहाँले उक्त सिमेन्टलाई आइतबार गुणस्तर चिह्न दिइएको र उद्योगका प्रतिनिधिले आज उक्त प्रमाणपत्र लिएर जानुभएको बताउनुभयो । गुणस्तर चिह्न प्राप्त गरेसँगै नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगको उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछ । “हामीले झण्डै आठ महिनादेखि परीक्षण उत्पादन गरिहेका थियौँ, सरकारको अनुमति पनि प्राप्त भएको छ, अब पूर्णरुपमा व्यावसायिक उत्पादन सुरु भएको छ”, हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भन्नुभयो ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगमा ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान भएकाले न्यून प्रदूषण हुने दाबी गरिएको छ । उद्योग आफैँले धुलो तथा पानीको बाफ प्रयोग गरेर आन्तरिकरुपमा नै ‘वेस्ट हिट रिकभरी’ मार्फत पाँच मेगावाट बिजुली आफँै उत्पादन गरेको छ । आपm्नै उच्च गुणस्तरको चुनढुङ्गा खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगले दाबी गरेको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर) बाट सम्पूर्ण उत्पादन प्रक्रियाको निरन्तर निगरानी हुने भएकाले गुणस्तरमा कुनै पनि सम्झौता नगरिने उद्योगको भनाइ छ ।

आपm्नै अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर तथा सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिनुभयो । अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगको भनाइ छ । मस्र्याङ्दी काठमाडौँ एक सय ३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको छ । सरकारले प्राथमिकता प्राप्त उद्योगलाई विद्युत् उपलब्ध गराउने गरेको छ ।

धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेशनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मङ्सिरको दोस्रो सातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध गराइएको थियो । प्रसारण लाइन निर्माण उद्योग आफैँले गरेको हो । त्यसका लागि मात्रै करिब रु एक अर्ब बराबरको खर्च भएको बताइएको छ । तनहुँको तल्लो मस्र्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारणलाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । सो स्विचिङबाट सिमेन्ट उद्योगले कूल २० मेगावाट विद्युत् लिनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगले मागेजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार नै हुवासिन सिमेन्टले पनि बिजुली पाएको यसअघि नै बताइसक्नुभएको छ । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेको उद्योगले करिब १४ किलोमिटर प्रसारण लाइन र एक सय ३२ केभी क्षमताको सबस्टेशन निर्माण गरेको छ । प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरीवेक्षणमा स्विचिङ स्टेशन र सवस्टेशन निर्माण गरिएको हो ।

प्राधिकरणका अनुसार स्विचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार भएको छ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिएका छन् । स्विचिङ स्टेशन सञ्चालनसँगै धादिङको गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहजरुपमा बिजुली उपलब्ध गराउन सकिएको छ । राजधानी काठमाडौँ नजिक भएकाले पनि राजमार्ग क्षेत्रमा दर्जनौँ नयाँ उद्योग खुल्न लागेका छन् । ती उद्योगमा सहजरुपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधारसमेत तयार भएको छ । राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो । कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब रु १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप रु तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ ।

आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ मा उद्योग स्थापनाका लागि चीनको राजधानी बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार छ महिनाभित्र कारखाना स्थापना गर्ने भनिए पनि विभिन्न कारणले लामो समय लागेको हो । संसारका प्रख्यात सिमेन्ट उद्योगमध्ये शीर्ष १० भित्र हुवासिन पनि पर्छ । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले रु ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेका सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछन् । उद्योगले धादिङको ताल्दी पुग्ने सडक निर्माण, स्थानीयरुपमा निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि अन्य सामाजिक कामसमेत गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!