बाइडेन–सि भेटघाटको बाटो ‘सहज’ छैन– चिनियाँ विदेशमन्त्री वाङ
वासिङ्टनको दुर्लभ भ्रमण पूरा गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भन्नुभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्नुभयो । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत हुनुभएको थियो ।
दुवै शक्तिबीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सिलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गर्नुभएको छ । अमेरिका जाने बारेमा राष्ट्रपति सिले अहिलेसम्म पुष्टि गर्नुभएको छैन ।
सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भन्नुभयो, “दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।”
सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भन्नुभयो, “सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’ का भरमा छोड्न सकिँदैन ।” सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सिबीच कुनै सम्पर्क भएको छैन ।
दुवै मुलुक एसिया–प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभूत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौँदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।
सिन्ह्वाका अनुसार वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताउनुभएको थियो ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, विश्व, समाचार
प्रतिक्रिया