तेन्डुप शेर्पाको अध्यक्षतामा विश्व शेर्पा संघले पायो नयाँ नेतृत्व
विश्व शेर्पा संघको दोश्रो महाअधिवेशन तथा ग्लोबल शेर्पा डे कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। काठमाडौंको चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा धर्मगुरु ठुल्सिक याङ्सी जिग्मे ठिन्ले कुन्ख्याब रिन्पोछे रहनुभएको थियो।
सन् २०१७ मा स्थापना भएको विश्व शेर्पा संघले शेर्पा जातिहरुको भाषा, धर्म, संस्कृति, रहनसहन तथा चालचलनलाई जीवन्त राख्न थुप्रै कामहरु गर्दै आइरहेको छ। संघले आयोजित कार्यक्रममा ,आदिवासी जनजाती महसंघका अध्यक्ष गेल्जे लामा, आदिवासी जनजाती महिला महासंघकि अध्यक्ष ङिमी शेर्पा, पूर्व राजदुत लक्की शेर्पा,पूर्व मन्त्री कृपासुर शेर्पा, नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष आचार्य नुर्बु शेर्पा ,समाजसेवी जीपछिरिङ लामा लगायत थुप्रै अतिथिहरु सहभागी थिए।
संघको आज सम्पन्न कार्यक्रममा विश्वभरीका २० भन्दा बढी मुलुकबाट शेर्पा समुदायका संघसंस्थाबाट प्रतिनिधिहरु सहभागी भएका छन् भने नेपालभित्रका संघसंस्थाबाट पनि प्रतिनिधिहरु उपस्थित थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धर्मगुरु ठुल्सिक याङ्सी जिग्मे ठिन्ले कुन्ख्याब रिन्पोछेले शेर्पा समुदाय विश्वभरी फैलिएर रहेको अवस्थामा आफ्नो भाषा, धर्म र संस्कृतिलाई जोगाउन विश्व शेर्पा संघले अत्यन्तै राम्रो कार्यक्रम गरेको बताउनुभयो। शेर्प समुदायले विश्व शान्तिको लागि थुप्रै योगदान गरेको र सिंगो संसारको शान्तिको लागि शेर्पा समुदाय मिलेर बस्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो। त्यसैगरी उहाँले आज सार्वजनिक भएको शेर्पा भाषाको एप्सले लोप हुँदै गएको शेर्पा भाषा सिक्नका लागि पुस्तकको रुपमा काम गर्ने भन्दै सबैले सो एप्स प्रयोग गर्न पनि अनुरोध गर्नु गर्नुभयो।
कार्यक्रममा आफ्ना भनाइहरु राख्दै आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले समुदाय पृथ्वीको जुनसुकै कुनामा रहेपनी आपसमा मिलेर बस्न अनुरोध गर्नुभयो। उहाँले बस्ने ठाउँ फरक भएपनी सबै एउटै समुदाय भएको हुनाले आपसी सद्भाव र सम्मानका साथ बस्नुपर्ने बताउनुभएको छ।
कार्यक्रममा पछिल्लो समय लोप हुँदै गएको शेर्पा भाषालाई मोबाइल एप्सबाट सिक्न मिल्नेगरी नयाँ एप्स समेत सार्वजनिक गरिएको छ। विश्वभरी मोबाइलफोन प्रयोग गर्ने शेर्पाहरुको संख्या बढिरहेको बेलामा संघले आजकै दिन नयाँ `शेर्पा वर्ल्ड´ नामको एप्स कार्यन्वयनमा ल्याएको हो। सो एप्स प्रयोगको लागि हाललाई प्रतिकार्ड रु. १ हजार तोकिएको छ। एप्समा शेर्पा, सम्भोटा, नेपाली र अङ्ग्रेजी गरि चार भाषामा अनुवाद गरिएको छ।
कार्यक्रममा संघका महसचिवले कार्यप्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षबाट संघको आर्थिक प्रतिवेदन प्रस्तुत भएका छन् । महाधिवेशनमा बिदेशमा रहेका शेर्पा किदुक तथा शेर्पा संघसंस्थाहरुका प्रतिनिधिहरुले झुममार्फत सबैलाई शुभकामना प्रदान गरेका छन् । त्यतीमात्र नभई विश्व शेर्पा संघले शेर्पा समुदायलाई एकीकृत गर्न गरेको प्रयास र शेर्पा भाषालाई जोगाइराख्न कार्यन्वयनमा ल्याएको नयाँ एप्सले सबैलाई फाइदा हुने भन्दै संघलाई धन्यवादसमेत दिएका छन् ।
दुई चरणमा सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री आङ छिरिङ शेर्पाको संयोजकत्वमा गठित निर्वाचनमणडलबाट तेन्डुप शेर्पाको अध्यक्षतामा संघले नयाँ नेतृत्व पाएको छ। त्यसैगरी आङ अमेरिकाबाट आङ जाङ्बु शेर्पा महासचिव,, टि टि शेर्पा सचिव र नोर्बु शेर्पा कोषाध्यक्षमा छनौट भएको हो।
नवमनोनीत संघका अध्यक्ष तेन्डुप शेर्पाले गाई र बाख्राको कथा जोड्दै संघलाई आफुले दिनुपर्ने जति कुरामा कुनै कसुर बाँकी नराख्ने बताएका छन् । उनले कसैलाई केही दिने नै हो भने जिवितै हुँदा दिन सक्नुपर्छ भन्दै संस्थालाई अग्रस्थानमा पुर्याउन सबैलाई मिलाएर जाने उद्घोष गर्नुभयो।
विभिन्न मुलुकबाट आउनुभएका संघसंस्थाको प्रतिनिधिहरुलाई संघले अक्टोबर ९ मा शेर्पा समुदायको बसोबास रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकामा रहेको शेर्पा गाँउहरुको अवलोकन गराउने कार्यक्रम तय गरेको छ। अवलोकनको क्रममा भोटेकोशी गाउँपालिका सेलाङ्कट्टीमा रहेको करिब ४ सय बर्ष पुरानो मानव खप्पर( नाङ्देन) को समेत दर्शन गराइनेछ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया