Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

किसानको गुनासोः वास्तविक किसानलाई कार्यक्रम आएन


वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवाला व्यक्तिले जोड दिएका छन् ।

राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए ।

अगुवा कृषक कर्ण बुढाले निर्वाचनभन्दा अगाडि घोषणापत्रमा मात्रै कृषकका लागि आकर्षक नारा ल्याउने तर व्यवहारमा भने किसानको अवस्था कहिले सुधार नहुने अवस्था रहेको बताउनुभयो । उहाँले अब राजनीतिक दलका घोषणापत्र आफूहरुका लागि आवश्यक छैन भन्दै कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिनुभयो ।

किसानलाई माथि नउठाएसम्म देशको समृद्धि हुँदैन भन्ने कुराको हेक्का राख्न उहाँले नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिनुभयो । किसान महासङ्घका कोषाध्यक्ष मीना आचार्यले वास्तविक किसानले सधैँ उत्पादन गरिरहने तर विचौलियाका कारण कहिले माथि उठ्न नसकेको बताउनुभयो । किसानको उत्पादन सिधै किन्ने व्यवस्था गर्न उहाँको सुझाव थियो ।

कृषक सुजन रोकायले स्थानीय सरकारले किसानका लागि हरेक बालीका बीउविजन ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो । किसान सङ्घ कर्णाली प्रदेशका अध्यक्ष नरसिंह मल्लले किसानका लागि गरिने हरेक कार्यक्रम गलत ढङ्गले सञ्चालन भइरहेको बताउनुभयो । उहाँले किसानका हरेक उत्पादनमा विचौलिया हाबी हुँदा समस्या भएकाले सरकारले आवश्यक नीति बनाउनुपर्नेमा सुझाव दिनुभयो ।

कर्णाली प्रदेश सभासदस्यले सरकारले कागजमा मात्रै समस्या समेट्ने गरेको तर कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । सांसद हिक्मत विष्टले प्रदेश सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई कृषि र खाद्यमा आत्मनिर्भर भने पनि व्यवहारमा कार्यान्वनय हुन नसकेको बताउनुभयो ।

उहाँले प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने भनेर नारा दिइए पनि भारतीय बजारबाट करोडौँको तरकारी र खाद्यान्न आयत भइरहेकाले यसमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुुभयो । सांसद टेकराज पछाईले सरकारले किसानका लागि ल्याएका कार्यक्रम दलालको पञ्जामा पर्ने गरेकाले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो।

स्थानीय तहका जनप्रतिनिधिले आगामी दिनमा कृषिलाई प्राथमिकता दिइने र किसानमैत्री कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । भेरीगङ्गा नगरपालिका प्रमुख यज्ञबहादुर ढकाल, लेकबेँसी नगरपालिका प्रमुख उमेश पौडेल र दैलेखस्थित गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले किसानमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।
कृषकका प्रश्नमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुजु र स्थानीय तहका कृषि शाखा प्रमुखलगायतले जवाफ दिनुभएको थियो ।

 

भेरीगङ्गा (सुर्खेत), १९ असोज

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, कृषि, राजनीति, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!