Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

“चिकित्सकमाथि हुने यस्तो घटनाप्रति खेद प्रकट गर्दछौँ”, समितिको निर्णयमा भनिएको छ, “दोषीउपर कारबाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउनसम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।”  समितिका सभापति जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र दुव्र्यवहारका घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

बैठकले चिकित्सक एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्ताबाट गर्न सुझाव दिएको छ । समितिले चिकित्सकहरु पेसागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्न समितिले निर्देशन दिएको छ ।

समिति बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव, नेपाल मेडिकल काउन्सिल, नेपाल दन्त चिकित्सक सङ्घ, नेपाल सरकारी चिकित्सक सङ्घ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय आवासीय चिकित्सक सङ्घ, नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायतका  सरोकारवाला सङ्घसंस्थाको प्रतिनिधिको उपस्थिति थियो ।

मन्त्री बस्नेतले चिकित्सकमाथि भएको दुव्र्यवहार एवं अनपेक्षित घटनाबारे दुःख व्यक्त गर्नुभयो । बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो । सचिव भट्टराईले दुव्र्यवहारका घटना भएका अस्पतालमा सुरक्षाको व्यवस्था मिलाइएको र संलग्नलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

वैठकमा आवासीय चिकित्सकलेहरुले हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल, चितवन र पाटनलगायतका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई तत्काल कारबाही गर्न माग राख्नुभयो । मणिपुर शिक्षण अस्पतालमा रहेका राजनीतिक दलका भातृ सङ्गठन हटाउन र  चिकित्सकको शान्तिसुरक्षा र सुविधाको प्रत्याभूतिको माग गरिएको थियो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीले सरकारले चिकित्सकको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा समाज गौतमले दोषीलाई कारबाहीको माग गर्नुभयो ।

बैठकमा समितिका अधिकांश सदस्यले चिकित्सक एवं स्वास्थ्यकर्मीको समस्यालाई दीर्घकालीन समाधान दिन दृढ राजनीतिक सङ्कल्प आवश्यकता भएको बताउनुभएको थियो ।

 

काठमाडौँ, १३ असोज :

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!