कर्मचारी नहुँदा सेवा पाउनबाट वञ्चित स्थानीय
डोल्पाको सदरमुकाम दुनै भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जाल जोडिएसँगै हप्तादिनदेखि देशका जुनसुकै ठाउँबाट पनि डोल्पाको दुनैसम्म सिधा यात्रा गर्न सकिने भएको छ ।
भेरी नदीमा अस्थायी पुल निर्माण भएसँगै डोल्पाको दुनैसम्म गाडीमा जान सकिने भएपछि स्थानीय खुसी भएका छन् । दुर्गम जिल्ला डोल्पामा यातायात सेवा विस्तार भएपछि स्थानीयलाई केही हदसम्म सहजताको अनुभूति गरेका छन् । सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका तीनवटा पालिका जानका लागि अझै पनि पैदल वा घोडाको साहारा लिनुपर्ने बाध्यता भने यथावत् नै छ । त्यहाँका कर्मचारीहरू कार्यालयमा बसेर तलब, भत्ता मात्र खाने गरेको जनप्रतिनिधीहरु नै गुनासो गर्दछन् ।
अधिकांश काम दुनैबाट गर्ने र वर्षदिनमा हप्ता दिन जस्तो मात्रै कार्यालय पुग्ने पालिकाका कर्मचारीहरु सामाजिक सञ्जालमा काम गरेको पोष्ट राख्ने गरेका जनप्रतिनिधिको गुनासो छ । “जनतासँग दैनिक हामीले काम गर्नुपर्छ, कर्मचारी खोज्दा कोही पनि भेटिँदैनन्, फोन गर्दासमेत सम्पर्कमा नआएर दुःख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताउनुभयो ।
“प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौँ हुनुहुन्छ, फोन गर्दा उठाउनुहुन्न, पालिकामा एकजना पनि कर्मचारी छैनन्, स्थानीयको काम गरिदिने कसले ?, देशमा सङ्घीयता आए पनि हाम्रो पालिकामा आएकै छैन”, उहाँले भन्नुभयो ।
सधैँ पालिकाभन्दा बाहिर बसेर सधैँ तलब, भत्ता खाने गरेको आरोप गुरुङले लगाउनुभयो । उहाँका अनुसार पालिकाको काममा गएको भन्दै लामो समयदेखि सेजुवाल काठमाडौँ बस्दै आउनुभएको छ । अन्य कर्मचारीहरू पनि व्यक्तिगत काममा बसेका कारण पालिकामा कर्मचारी कोही पनि नभेटिने गरेका छार्काताङसुङ–४ का पासवान रोकाय बताउनुहुन्छ ।
उहाँले पनि कर्मचारीहरु सदरमसकाम नै बसेर काम गर्ने र कार्यालय कहिलेकाहीँ मात्र आउने गरेको गुनासो गर्नुभयो । पालिकाका सूचना प्राविधिक अधिकृत किरण केसी पनि सम्पर्कमा हुनुहुन्न भने गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङ पनि काठमाडौँमा हुनुहुन्छ ।
गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले सेवाग्राही मात्र नभएर आफू पनि पीडित भएको बताउनुहुदै जतिबेला पनि सम्पर्कमा रहनुपर्ने व्यक्तिले फोन समेत उठाउने नगरेको बताउनुभयो ।उहाँ भने काम परेको बेला आफु जतिबेला जुनसुकै ठाउँमा पुग्ने गरेको बताउनुहुन्छ । बजेटका लागि काठमाडौँ पुग्नुभएका अध्यक्ष गुरुङ पालिकाको विकासलाई गति दिन केन्द्र सरकार र मन्त्रीहरुसँग छलफलमा रहेको बताउनुभयो । गाउँपालिकामा हुने अधिकांश कामहरू कर्मचारी नहुँदा समस्या हुँदै आएको सेवाग्राहीले बताएका छन् ।
–––
क्याटेगोरी : शिक्षा
प्रतिक्रिया